रास्वपा सभापति रवि लामिछानेसँग हेमराज भट्टको भेट : शिक्षा, रोजगारी र सुदूरपश्चिमका मुद्दामा गहन छलफल

अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हेमराज भट्टले पार्टी सभापति रवि लामिछानेसँग समसामयिक राष्ट्रिय तथा सुदूरपश्चिमका विभिन्न महत्वपूर्ण विषयमा विस्तृत छलफल भएको बताएका छन्।

भेटका क्रममा परामर्शदाताको नियमावली, समग्र शिक्षा क्षेत्रको सुधार, देशमा रोजगारी सिर्जना, वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेशिएका युवाको भविष्य, पार्टी संगठन विस्तारलगायतका विषयमा गहन छलफल भएको भट्टले जानकारी दिए। सभापतिबाट प्राप्त सकारात्मक प्रतिक्रिया, सुझाव र प्रतिबद्धताले आफूलाई थप उत्साह र विश्वास मिलेको उनको भनाइ छ।

Navadurga sun

भट्टका अनुसार छलफलका क्रममा अतिरिक्त ३ प्रतिशत शिक्षा समता शुल्कको विषयलाई पनि विशेष रूपमा उठाइएको थियो। उनले गोदावरी क्षेत्रका दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालय जस्ता सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखी शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार सुदृढ गर्न सके सबै वर्गका अभिभावकको रोजाइमा पर्न सक्ने धारणा राखेका थिए।

यस विषयमा सभापति लामिछानेले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि यस्तो शुल्क स्वाभाविक देखिए पनि न्यून आय भएका अभिभावकका सन्तान मुख्यतः सामुदायिक विद्यालयमै अध्ययन गर्ने भएकाले शिक्षा समता शुल्कबारे सरकारसँग आवश्यक छलफल गर्ने प्रतिबद्धता जनाएको भट्टले बताए।

विशेषगरी भारतमा रोजगारीका लागि जाने नेपाली युवाको अवस्थाबारे पनि आफूले सभापतिको ध्यानाकर्षण गराएको उनले बताए। सुदूरपश्चिमबाट ठूलो सख्यामा युवाहरू रोजगारीका लागि भारत जाने भएकाले स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्न राज्यले प्राथमिकता दिनुपर्ने प्रस्ताव आफूले राखेको भट्टको भनाइ छ।

उनले स्वदेशमै रोजगारीका अवसर विस्तार गर्न सरकारसँग समयमै बहस र छलफल गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुदूरपश्चिममै रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न विशेष पहल गर्न सभापतिलाई आग्रह गरेको बताए। सभापतिले उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिएको उनको दाबी छ।

भेटवार्तामा सुदूरपश्चिम प्रदेशको समग्र विकास, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका विभिन्न समस्याहरू पनि उठाइएको थियो। ती विषयमा सभापति लामिछानेले सकारात्मक चासो व्यक्त गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको भट्टले बताएका छन्।

भट्टले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर यस्ता रचनात्मक संवादलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...