काठमाण्डौ- सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई साउन ८ गतेभित्र आवेदन दिन आग्रह गरेको हो।


सूचनाअनुसार उम्मेदवारको न्यूनतम योग्यता, दरखास्त फाराम तथा आवश्यक कागजात सम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।

विज्ञापन बोर्डले नेपाल सरकारबाट सञ्चार माध्यमलाई उपलब्ध गराइने सार्वजनिक हितका विज्ञापन समानुपातिक रूपमा वितरण गर्ने, विज्ञापन व्यवसायलाई नियमन गर्ने, विज्ञापनसम्बन्धी नीति तथा मापदण्ड तयार गर्ने, आचारसंहिता निर्माण गर्ने र विज्ञापनको अनुगमन तथा नियमन गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ।
यसका साथै बोर्डले भ्रामक, अमर्यादित तथा भेदभावजन्य विज्ञापनको निगरानी गर्ने, विदेशी च्यानलबाट प्रसारण हुने मापदण्डविपरीतका विज्ञापनमाथि कारबाहीका लागि सिफारिस गर्ने, सम्बन्धित निकायबीच समन्वय गर्ने, उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा विज्ञापन क्षेत्रमा उत्कृष्ट कार्य गर्नेलाई प्रोत्साहन र पुरस्कृत गर्ने लगायतका कार्य पनि गर्नेछ।
