

कञ्चनपुर- महेन्द्रनगरमा आयोजित मुस्लिम समुदायको सशक्तीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ ले मुस्लिम समुदाय क्रमशः आफ्ना संवैधानिक तथा कानुनी अधिकारप्रति सचेत र सक्रिय बन्दै गएको बताएका छन्। उनले मुस्लिम आयोग ले समुदायको अधिकार स्थापना, संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आयोगका सचेतनामूलक कार्यक्रमहरूको प्रशंसा गरे।



कार्यक्रममा उनले संविधानको धारा २६४ बमोजिम स्थापित आयोगले मुस्लिम समुदायका समस्या तथा चुनौतीहरूको अध्ययन–अनुसन्धान गरी समाधानका लागि सरकारलाई सुझाव दिने तथा आफ्नो संवैधानिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरिरहेको बताए। आयोगले समुदायस्तरसम्म पुगेर अन्तरक्रिया, परामर्श र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु सराहनीय कार्य भएको उनको भनाइ थियो।


सो अवसरमा राजेन्द्रसिंह रावल ले मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध व्यक्तित्व प्रदेश प्रमुखको जिम्मेवारीमा रहनु सकारात्मक सन्देश भएको बताए। पदम बोगटी ले स्थानीय तह मुस्लिम समुदायका सरोकारप्रति संवेदनशील रहेको र उठाइएका विषय सम्बोधन गर्न नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे।
महमदिन अली को अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका सदस्यद्वय शमसुल हक र मिर्जा अर्शद बेग लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा मुस्लिम समुदायको सशक्तीकरण, अधिकार संरक्षण तथा राज्यका निकायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो।