अत्तरिया खानेपानी संस्थाको १७औँ साधारण सभा सम्पन्न, सेवा विस्तार र दिगो विकासमा जोड

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १७औँ वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ । संस्थाले हालसम्म हासिल गरेको उपलब्धि, सेवा विस्तारको अवस्था र आगामी रणनीतिबारे विस्तृत रूपमा छलफल गर्दै सभा सम्पन्न गरिएको हो ।

कार्यवाहक अध्यक्ष शेरबहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथिका रहनु भएको थियो । 

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले सामुदायिक संस्थाहरू स्थानीय सरकारका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै खानेपानी तथा सरसफाइ सेवाको दिगो व्यवस्थापनका लागि सबै सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले नगरपालिकाबाट आवश्यक नीति, स्रोत र सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरे ।

Dadeldhura hospital

सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका लागि प्रस्तावित योजना प्रस्तुत गरिएको थियो । संस्थाले हालसम्म विभिन्न वडामा खानेपानी सेवा विस्तार गर्दै उपभोक्तालाई स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउँदै आएको जानकारी दिइयो । साथै, पानी आपूर्ति प्रणाली सुधार, स्रोत संरक्षण, पाइपलाइन विस्तार तथा मर्मत–सम्भारका कामहरूलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

त्यसैगरी, सरसफाइ प्रवर्द्धन कार्यक्रम अन्तर्गत समुदायमा जनचेतना अभिवृद्धि, फोहोर व्यवस्थापन र वातावरण संरक्षणका गतिविधिहरू पनि सञ्चालन हुँदै आएको उल्लेख गरिएको थियो । कार्यक्रममा सहभागी उपभोक्ताहरूले पानी आपूर्तिमा देखिएका समस्या, वितरण प्रणालीको सुधार, समयमै मर्मत तथा पारदर्शिता बढाउनुपर्ने जस्ता विषयमा सुझाव तथा गुनासाहरू राखेका थिए ।

सभाले संस्थाको आगामी कार्यदिशा स्पष्ट पार्दै सेवा गुणस्तर सुधार, दीर्घकालीन योजना निर्माण तथा उपभोक्ता सन्तुष्टि अभिवृद्धिमा जोड दिने निर्णय गरेको छ । साथै, संस्थाको नयाँ नेतृत्व चयनका लागि आगामी वैशाख २६ गते निर्वाचन गर्ने घोषणा गरिएको छ । निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन भएपछि संस्थाको सेवा प्रवाह अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

स्थानीय तहसँगको सहकार्यलाई थप मजबुत बनाउँदै अत्तरिया खानेपानी संस्थाले आगामी दिनमा पनि उपभोक्तालाई भरपर्दो, स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्यसहित आफ्ना गतिविधिहरू अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ ।

Loading...