


काठमाडौं- नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सम्पूर्ण आरोपको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ ।


पार्टी प्रवक्ता देवराज चालिसेले सोमबार विज्ञप्ति जारी गर्दै उक्त विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउने बताएका छन् ।



पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता प्रश्नको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको कांग्रेसको ठहर छ ।
“यस सन्दर्भमा, गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ,” विज्ञप्तिमा भनिएको छ ।
अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्ने कांग्रेसले उल्लेख गरेको छ । वैशाख २ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरिसकेको छ ।





