धनगढी- धनगढी उपमहानगरपालिका ले सञ्चालन गरेको कक्षा ८ को वार्षिक परीक्षामा सामुदायिक विद्यालयतर्फ धनगढी–१६ स्थित बेहडाबाबा माध्यमिक विद्यालय उत्कृष्ट बनेको छ ।


शुक्रवार सार्वजनिक नतिजाअनुसार विद्यालयका ४८ जना परीक्षार्थीमध्ये ४२ जना उत्तीर्ण भएका छन्, जुन कुलको ८७.५० प्रतिशत हो ।


प्रधानाध्यापक भोजराज शर्मा का अनुसार विद्यालयले पछिल्ला वर्षहरूमा निरन्तर सुधार गर्दै आएको छ । २०७९ मा मात्र १२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा २०८० मा ६४.६० प्रतिशत र २०८१ मा ७५ प्रतिशत पुगेको थियो। अब २०८३ मा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य राखिएको छ ।

२०७९ देखि उपमहानगरपालिकाले परीक्षा प्रणालीलाई व्यवस्थित बनाउँदै प्रश्नपत्र निर्माण, सञ्चालन र उत्तरपुस्तिका परीक्षणमा सुधार गरेपछि सुरुवाती वर्षमा केही विद्यालयको नतिजा कमजोर देखिएको थियो ।
तर त्यसपछि पठनपाठन सुधारसँगै सामुदायिक विद्यालयहरूको नतिजामा उल्लेखनीय वृद्धि भएको छ। यस वर्ष सामुदायिक विद्यालयहरूको औसत उत्तीर्ण प्रतिशत ५०.०६ पुगेको छ ।
विद्यालयले नतिजा सुधारका लागि अभिभावकसँग नियमित परामर्श, विद्यार्थीको आवश्यकता अनुसार अतिरिक्त कक्षा, र कमजोर विद्यार्थीलाई लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । अङ्ग्रेजी, नेपाली र गणित विषयमा विशेष कक्षा, नियमित साप्ताहिक परीक्षा, र माघदेखि छात्रावासमै राखेर तयारी गराउने अभ्यासले पनि सकारात्मक परिणाम दिएको विद्यालय प्रशासनले जनाएको छ ।
प्रधानाध्यापक शर्माका अनुसार शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्य नै सफलता हासिल गर्ने मुख्य आधार बनेको छ।





