कञ्चनपुरमा सिकलसेल–थालासेमिया स्क्रिनिङमा ५२० जनाको परीक्षण

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका–शङ्करपुरमा सञ्चालन गरिएको निःशुल्क सिकलसेल एनिमिया तथा थालासेमिया स्क्रिनिङ स्वास्थ्य शिविरमा ५२० जनाको रगत परीक्षण गरिएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न शिविरमा ३९४ महिला र १२६ पुरुषको परीक्षण गरिएको हो।

परीक्षण गरिएकामध्ये ४१ जनामा ट्रेट (बाहक) देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिए। ट्रेट देखिएका २९ महिला र १२ पुरुषलाई थप पुष्टि परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धनगढी पठाइएको उनले बताए।

Navadurga sun

सिकलसेल एनिमिया र थालासेमिया दुवै वंशाणुगत (आनुवंशिक) रगतसम्बन्धी रोग हुन्। फोकल पर्सन भट्टका अनुसार सिकलसेल एनिमियामा रातो रक्तकोशिकाको आकार हँसिया जस्तो हुने भएकाले शरीरका विभिन्न भागमा रगतको प्रवाह अवरुद्ध हुन सक्छ। यसले अत्यधिक पीडा, रक्तअल्पता (एनीमिया), कमजोरी, बारम्बार सङ्क्रमण, हातखुट्टा सुन्निने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, किड्नी, कलेजो तथा अन्य अङ्गमा समस्या जस्ता गम्भीर असर पार्न सक्छ। गम्भीर अवस्थामा यसले जीवनसमेत जोखिममा पार्न सक्छ।

त्यसैगरी, थालासेमिया रगतमा हेमोग्लोबिनको मात्रा कम हुने आनुवंशिक रोग हो। यस रोगका बिरामीलाई नियमित रूपमा रगत चढाउनुपर्ने हुन सक्छ भने समयमै उपचार नपाए विभिन्न जटिल स्वास्थ्य समस्या देखिन सक्छन्।

समुदायस्तरमै सिकलसेल एनिमिया तथा थालासेमिया जस्ता वंशाणुगत रोगको पहिचान र नियन्त्रण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको भट्टले बताए।

यसैबीच, लालझाडी गाउँपालिकाको आयोजना तथा च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र धनगढी नेत्रालय, कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट २४८ जनाले सेवा लिएका छन्। शिविरमा सेवाग्राहीहरूको आँखा परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा २८ जनामा मोतिबिन्दु देखिएकाले निःशुल्क शल्यक्रियाका लागि रिफर गरिएको छ। साथै, ३८ सेवाग्राहीलाई रिडिङ ग्लास ९चस्मा० वितरण गरिएको छ।

ग्रामीण क्षेत्रमा आँखासम्बन्धी रोगको पहिचान तथा समयमै उपचार सेवा विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। शिविरमा सहभागी नेत्र चिकित्सकका अनुसार मोतिबिन्दु आँखाको लेन्स धमिलो हुने समस्या हो, जसले दृष्टि कमजोर बनाउँदै अन्ततः अन्धोपनसमेत निम्त्याउन सक्छ। तर समयमै शल्यक्रियामार्फत यसलाई सहजै निको पार्न सकिन्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...