रुपन्देही- रुपन्देहीको तिनाउ गाउँपालिका–३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयकी एक छात्राले विद्यालयमै शिशु (छोरी) लाई जन्म दिएकी छन् । कक्षा ११ मा अध्ययनरत १८ वर्षीया ती छात्राले केही दिनअघि विद्यालयकै शौचालयमा शिशुलाई जन्म दिएकी हुन् ।


उनी अविवाहित रहेको विद्यालय प्रशासनले जनाएको छ । छात्राले विद्यालयमै शिशु जन्माएको घटनाले स्थानीय समुदाय र शैक्षिक वृत्तमा व्यापक चर्चा र चासो पैदा गरेको छ । घर टाढा भएका कारण विद्यालयले व्यवस्था गरेको कोठामा साथीहरूसँग बस्दै आएकी ती छात्राले आफ्नो गर्भावस्था लुकाएर राखेको पाइएको छ । सँगै बस्ने साथीहरू, शिक्षक तथा विद्यालय प्रशासनलेसमेत उनको अवस्थाबारे कुनै सुइँको नपाएको दाबी विद्यालय प्रशासनले गरेको छ ।



अचानक शौचालयमै सुत्केरी व्यथा लागेपछि उनले त्यहीँ बच्चा जन्माएकी थिइन् । त्यसपछि मात्र घटना बाहिरिएको हो । केही दिनअघि उनले पेट दुखेको भन्दै विद्यालयबाट सिटामोलसमेत लिएकी थिइन ।
विद्यालयका प्रधानाध्यापक झपेन्द्र ज्ञवालीले घटना पुष्टि गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष चित्रबहादुर थापाका अनुसार, छात्राको शरीर मोटो देखिने भएकाले गर्भवती भएको कसैले अनुमान गर्न सकेका थिएनन् । सोधखोजको क्रममा ती छात्राले सहपाठी एक युवकसँगको सम्बन्धबाट गर्भ रहेको बताएकी छन् ।
तर, उनले भनेका युवक हाल विद्यालय उपस्थित छैनन् । ती युवकका अभिभावकले भने जिम्मेवारी स्वीकार गरेको दावी विद्यालय प्रशासनको छ । घटना बाहिरिएपछि विद्यालयमा हलचल मच्चिएको छ । बालमैत्री कार्यक्रम सञ्चालन हुँदै आएको विद्यालयमै यस्तो घटना हुनुले थप प्रश्नहरू उठाएको छ ।





