अत्तरिया- सुदूरपश्चिम प्रदेशको प्रमुख नेपाल–भारत सिमानाका त्रिनगर नाकामा बिहानैदेखि मानिसहरूको चहलपहल बढेको देखिन्छ । मतदानका लागि स्वदेश फर्किएका धेरै नेपाली अहिले फेरि रोजगारी, उपचार र अन्य कामका लागि भारततर्फ फर्किने क्रम बढेको छ ।




रोजगारीका लागि भारत जानेहरूको संख्या उल्लेख्य देखिन्छ । महेन्द्रनगरका पदम पन्त मतदान गर्न दुई महिनाअघि नेपाल आएका थिए । अहिले उनी फेरि भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गर्न फर्किन लागेको बताउँछन् । ‘नेपालमा रोजगारीको अवसर कम छ, त्यसैले कामका लागि भारत जानु परेको हो,’ उनले भने ।







त्यस्तै अछाम जिल्ला की कल्सु साउँद भने स्वास्थ्य उपचारका लागि भारत जान लागेकी हुन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि भारतका अस्पतालमा जाने गरेको बताउँछिन् । सुदूरपश्चिमका धेरै बिरामीहरू जटिल रोगको उपचारका लागि भारतका बरेली, हल्द्वानी, देहरादून र दिल्लीका अस्पतालमा भर पर्ने गरेका छन् ।
यसैबीच धनगढीका चन्द्र सिंह भने आवश्यक कागजात नभएका कारण सीमामै रोकिएका छन् । उनको साथमा भारतीय आधार कार्ड मात्र भएकाले सीमा सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएको उनले बताए ।
नेपाल–भारतबीच खुला सिमाना भए पनि पछिल्लो समय सीमा पार गर्दा कागजात जाँच कडा बनाइएको छ । नागरिकता वा अन्य पहिचान कागजात नभएमा कतिपय यात्रुहरू सीमामै रोकिनुपर्ने अवस्था देखिएको छ ।
त्रिनगर नाका सुदूरपश्चिम प्रदेशको प्रमुख आवतजावत बिन्दु मानिन्छ । यहाँबाट दैनिक हजारौँ मानिस नेपाल–भारत आउजाउ गर्ने गर्छन् । स्थानीयस्तरमा रोजगारीको अवसर कम भएकाले धेरै युवा भारतमा काम गर्न बाध्य भएका छन् भने स्वास्थ्य सेवाको अभावले पनि बिरामीहरू उपचारका लागि भारत जाने क्रम बढ्दो छ ।




