धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ मा सम्पन्न निर्वाचनले मुलुक बनाउने र निर्माण गर्ने स्पष्ट जनादेश दिएको बताएका छन ।


लम्कीचुहा नगरपालिका वडा नम्बर २ मा रहेको जनसेवा माध्यमिक विद्यालय बघौरा गणेशपुरको ३६ औँ जन्मजयन्ती तथा वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले जनताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत दिएको बताए ।



सोही कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट निर्माण गरिएको दुई कोठे विद्यालय भवनको उद्घाटन समेत उनले गरेका थिए ।
मुख्यमन्त्री शाहले जनताले राष्ट्रिय राजनीतिमा प्रकट गरेको अभिमतले मुलुकलाई भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनयुक्त बनाउने दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई जनताको भावना र चाहनाअनुसार कार्यान्वयन गर्दै लैजानुपर्नेमा जोड दिए ।
निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने राष्ट्रपति, प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख, कर्मचारी तथा प्रत्यक्ष रूपमा खटिएका सम्पूर्ण जनशक्ति र आम जनतालाई धन्यवाद तथा आभार व्यक्त गर्दै मुख्यमन्त्री शाहले अब मुलुकलाई जनताको अपेक्षा र युवाको चाहना अनुसार अघि बढाउनुपर्ने बताए ।
उनले संरचनागत सुधार नगरेसम्म विकासको गति तीव्र बनाउन नसकिने उल्लेख गर्दै आगामी दिनमा गठन हुने दुई तिहाइको सरकारलाई प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।