कैलाली- कैलाली क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सूर्य बहादुर थापालाई सघाउने गरी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार डम्बर बहादुर रावल उम्मेदवारीबाट पछि हटेका छन्।



आज दुवै दलबीच भएको सहमतिअनुसार प्रत्यक्षतर्फ एमाले उम्मेदवारलाई साथ दिने र समानुपातिकतर्फ आ–आफ्नो चुनाव चिन्हमा मत माग्ने उल्लेख गरिएको छ।



सहमति कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य भगत बडूवालले देशको वर्तमान अवस्थालाई ध्यानमा राख्दै संविधान र राष्ट्रिय अस्मिता जोगाउने उद्देश्यले यस्तो निर्णय गरिएको बताए।
एमाले केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज लीला भण्डारीले सहमतिले कैलाली–२ मा एमालेको जित सुनिश्चित हुने दाबी गरिन्। उनले देश र संविधानको रक्षाका लागि एमाले उम्मेदवारको जित आवश्यक रहेको उल्लेख गरिन्।
उम्मेदवारी निष्क्रिय गरेपछि रावलले क्षेत्रको विकासका लागि सधैँ सहकार्य गर्ने बताएका छन्। साथै समान विचार भएका उम्मेदवारहरूलाई पनि हातेमालो गर्न अपिल गरेका छन्।
समर्थनपछि थापाले आफ्नो जित अझै बलियो भएको दाबी गर्दै देश विकास र समृद्धिका लागि फुटेर होइन, जुटेर अघि बढ्न सबैलाई आह्वान गरेका छन्।




