

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माविको पहिलो चरणको ३७औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम विद्यालयका प्रिन्सिपल यम प्रसाद भण्डारी को अध्यक्षतामा सम्पन्न भएको हो।


कार्यक्रमका प्रमुख अतिथि प्रयागराज जोशी रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा प्याप्सन सुदूरपश्चिमका सचिव तथा सक्षम पाठशालाका प्रिन्सिपल तर्कराज भट्टराई, गोदावरी पब्लिक स्कुलका हेमराज नौन्याल र खप्तड विद्या निकेतनका स्थापक प्रिन्सिपल श्यामबहादुर खत्रीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक जगदीश सिंह कोटारीले गरेका थिए भने स्वागत मन्तव्य शिक्षिकातर्फबाट सीमा कुँवर र विद्यार्थीका तर्फबाट शर्मिला कडायतले व्यक्त गरेका थिए।




उक्त कार्यक्रममा विद्यार्थीहरूले नाटक, नृत्य, ड्रिल लगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै उत्कृष्ट शिक्षक–शिक्षिका सम्मान तथा विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
वक्ताहरूले शिक्षा अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै विद्यालयले सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताएका थिए। सभापति भण्डारीले विद्यालय आधुनिक प्रविधि र सिद्धान्तअनुसार पठनपाठन गरिरहेको र थप आधुनिकीकरणका लागि निरन्तर प्रयासरत रहेको बताए। विद्यार्थी संख्या बढ्दै गएको उल्लेख गर्दै उज्ज्वल भविष्यका लागि यस विद्यालय रोज्न उनले आग्रह गरे।
प्रमुख अतिथि जोशीले गोदावरी नगरपालिकाले शिक्षाको क्षेत्रमा निरन्तर काम गरिरहेको बताउँदै निजी विद्यालयका समस्या समाधानका लागि शिक्षा शाखासँग समन्वय गरी अघि बढ्नुपर्ने बताए। साथै सहुलियत दरमा शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए।
आज शुक्रबारदेखि सञ्चालन भएको वार्षिक उत्सव भोलि १६ गते शनिबारका दिन पनि सञ्चालन हुने विद्यालयले जनाएको छ।