गोदावरी नगरपालिकामा रिड आयोजनाबारे उच्चस्तरीय छलफल, उपलब्धि र रणनीतिमा समीक्षा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) आर्थिक करिडोर कार्यालय, डडेल्धुराको संयोजनमा उच्चस्तरीय विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रिड आयोजना अन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममार्फत सुदूरपश्चिम प्रदेशको भीमदत्त रोड करिडोर क्षेत्रमा कार्यान्वयन भइरहेका क्रियाकलाप, उपलब्धि, चुनौती र आगामी रणनीतिबारे गहन समीक्षा गरिएको हो ।

आयोजनाका निर्देशक चन्द्र प्रसाद रिसाल, विश्व बैंक रिड आयोजनाका टिम लिडर महा अहमेद वस्क, वरिष्ठ कृषि अर्थ विज्ञ सुजन ढुङ्गेल, उद्यम विकास विशेषज्ञ दीपेन्द्र श्याम घिमिरे, भिजन प्रतिनिधि सबिना कार्की, मिसन प्रतिनिधि एन्जीला महर्जन, वरिष्ठ कृषि अधिकृत पशुपति नाथ, डा. सुशन ढकाल, लेखापाल शेरे बेहोरा तथा सहायक कर्मचारी बल्देव भट्टराईलगायतको सहभागिता रहेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

नगरपालिकातर्फबाट नगर प्रमुख विरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, पशु सेवा शाखा प्रमुख रामबहादुर सार्की, कृषि शाखा प्रतिनिधि सपना गुरुङ देउवा, डा. निलम कुमाहतो तथा सञ्चारकर्मी केशव सिंह धामी सहभागी थिए ।

छलफलमा फेब्रुअरी २२–२४ सम्म हुने विश्व बैंक मिसन भ्रमणको तयारी, परियोजनाको कार्यसम्पादन अवस्था, वित्तीय प्रगति, स्थानीय तहसँगको समन्वय तथा दिगोपनाका उपायबारे विशेष मन्थन गरिएको थियो । गोदावरी–१ स्थित नगरस्तरीय कृषि तथा पशुपालन सेवा केन्द्रमार्फत प्रवाह भइरहेका सेवा, ६ वटा कृषक उपचार सेवा उपकेन्द्रको प्रभावकारिता र गाउँ–बजार एकीकृत सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयमा सुझावहरू प्रस्तुत गरिएका थिए ।

आयोजना प्रतिनिधिहरूले स्थानीय तहसँगको सहकार्यलाई परिणाममुखी बनाउन संगठन संरचना व्यवस्थित गर्नुपर्ने, कृषक र पालिकाबीच प्रत्यक्ष समन्वय बढाउनुपर्ने तथा सेवा पहुँचलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने धारणा राखेका थिए । सहभागीहरूले विगतका क्रियाकलापको उपलब्धि सकारात्मक रहेको उल्लेख गर्दै आगामी चरणमा उत्पादन वृद्धि, बजार पहुँच विस्तार र उद्यमशीलता विकासमा केन्द्रित कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

समापनमा नगर प्रमुख विरेन्द्र भट्टले रिड आयोजनाले नगरको कृषि तथा पशुपालन क्षेत्र सुदृढ बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी सहकार्यका लागि ठोस योजना अघि सारिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको अन्त्यमा आयोजना प्रतिनिधिहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै औपचारिक हस्तान्तरण गरिएको थियो, जसले स्थानीय तह र आयोजनाबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

Loading...