


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१० स्थित जानकी माध्यमिक विद्यालयमा दुई कोठे भवन निर्माणको शिलन्यास गरिएको छ । नगर प्रमुख विरेंद्र भट्टले एक कार्यक्रमबीच भवनको शिलन्यास गर्दै शिक्षा क्षेत्र नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले नगरभित्रका ५४ वटै विद्यालयमा विषयगत शिक्षक अभावको समस्या समाधान भइसकेको जानकारी दिँदै अब भौतिक पूर्वाधार सुदृढीकरणमा जोड दिइएको उल्लेख गर्नुभयो ।


कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष रविन्द्र शाहीले जानकी माविलाई कक्षा १२ सम्म विस्तार गर्ने लक्ष्य लिइएको जानकारी गराउँदै त्यसका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित जैगडीले सामूहिक प्रयासकै कारण विद्यालयमा क्रमिक सुधार भइरहेको उल्लेख गर्दै जानकी माविलाई नमुना विद्यालयका रूपमा विकास गर्न सबैले अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।
यसै अवसरमा विद्यालयका प्रधानाध्यापक रामबहादुर पार्कीले पर्खाल तथा गेट निर्माण, शैक्षिक दरबन्दी व्यवस्थापन, विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापनालगायत आवश्यक पूर्वाधारका विषयमा मागपत्र नगर प्रमुखसमक्ष पेश गर्नुभयो ।
दुई कोठे भवन निर्माणका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने अपेक्षा गरिएको छ । स्थानीय सरकारको सक्रियता र समुदायको सहकार्यले जानकी मावि अब पूर्वाधार र शैक्षिक गुणस्तर दुवैमा अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ ।





