कञ्चनपुर- चुरेफेदस्थित शुक्लाफाँटा नगरपालिका अन्तर्गत पर्ने मुक्तकमैया बस्तीका बासिन्दाले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा १८ बुँदे मागसहितको होर्डिङ बोर्ड राखेर उम्मेदवारहरूलाई दबाब दिएका छन्। ‘हाम्रा माग कहिले पूरा हुन्छन्?’ भन्ने सन्देशसहितको बोर्ड बस्ती प्रवेशमार्गमा राखिएको हो।




विसं २०५८ देखि उक्त बस्तीमा ६४८ मुक्तकमैया परिवार बसोबास गर्दै आएका छन्। पुनःस्थापनाको अढाइ दशक बितिसक्दा पनि आधारभूत सेवा, सुरक्षित आवास, शुद्ध खानेपानी, गुणस्तरीय शिक्षा र रोजगारीको अभाव रहेको बस्तीवासीको गुनासो छ। प्राप्त जमिन लालपुर्जामा परिणत नभएको र धितो राख्न वा बिक्री गर्न नपाइने कानुनी सीमाले आर्थिक क्रियाकलापमा कठिनाइ भएको स्थानीयले बताएका छन्।


हेण्डपम्पको पानीमा आर्सेनिक तथा आइरन बढी भएकाले स्वास्थ्य समस्या देखिएको, घरकटुवा र सनबोरा नदीले बर्सेनि कटान गर्दै आएको तथा तटबन्ध निर्माणको माग वर्षौँदेखि सम्बोधन नभएको जनाइएको छ। युवाहरू रोजगारीको अभावमा भारततर्फ जान बाध्य भएको स्थानीयको भनाइ छ।
मागसूचीमा निःशुल्क स्वास्थ्य सेवा, पूर्ण निःशुल्क शिक्षा, सुरक्षित सडक, ढल निकास, सामाजिक सुरक्षा, श्रमिक पञ्जीकरण, गाउँ/नगरसभामा प्रतिनिधित्व, छुट्टै बजेट विनियोजन, सांस्कृतिक पहिचान संरक्षणलगायत विषय समेटिएका छन्। बस्तीका अगुवाहरूका अनुसार स्पष्ट प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्रै सामूहिक रूपमा मतदान गरिनेछ।




