अत्तरिया- सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारसम्बन्धी उजुरी पर्ने क्रम पछिल्ला वर्षहरूमा बढ्दै गएको देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयका अनुसार विगत १२ वर्षको अवधिमा ११ हजार ९५२ उजुरी दर्ता भएका छन्। तीमध्ये ११ हजार ४०९ उजुरी फस्र्याेट भइसकेका छन् भने ५४३ उजुरी अझै बाँकी रहेका छन्।


अख्तियारको ३५ औँ स्थापना दिवसका अवसरमा सार्वजनिक गरिएको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ मा ७४९, ०७१/७२ मा १,१२६, ०७२/७३ मा ९५८, ०७३/७४ मा ६४४ र ०७४/७५ मा ५८८ उजुरी दर्ता भएका थिए। त्यसैगरी ०७५/७६ मा ७३४, ०७६/७७ मा ९१२, ०७७/७८ मा ९०७, ०७८/७९ मा ७०७, ०७९/८० मा १,२७३, ०८१/८२ मा १,१९८ र चालू आर्थिक वर्ष ०८२/८३ को हालसम्म ६८६ उजुरी दर्ता भएका छन्।



चालू आर्थिक वर्षको २६ माघसम्म सबैभन्दा बढी उजुरी कैलालीबाट २९२ दर्ता भएका छन् भने सबैभन्दा कम डडेलधुराबाट ७६ उजुरी परेका छन्। अन्य जिल्लामध्ये कञ्चनपुरमा १९२, अछाममा १२४, बाजुरामा १२०, बैतडीमा ९५, बझाङमा ८७, दार्चुलामा ८३ र डोटीमा ७९ उजुरी दर्ता भएका छन्। चालू आर्थिक वर्षमा हालसम्म ६१० उजुरी फस्र्याेट गरिएको छ भने ५३८ उजुरी बाँकी रहेका छन्।
अख्तियारको कञ्चनपुर कार्यालयका प्रमुख वेदप्रसाद भण्डारीका अनुसार हालसम्म जिल्लाबाट ११ वटा मुद्दा विशेष अदालतमा दर्ता गरिएको छ भने १ स्ट्रिङ अपरेसन सञ्चालन गरिएको छ। जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले सार्वजनिक निकायमा कार्यरत कर्मचारीले नागरिकलाई अख्तियारको नाम देखाएर काम नगर्ने प्रवृत्तिलाई समेत भ्रष्टाचारकै रूपमा लिनुपर्ने बताए।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव वैकुण्ठप्रसाद अर्यालले भ्रष्टाचार न्यूनीकरणका लागि सार्वजनिक निकायमा कार्यरत कर्मचारी स्वयं नैतिक र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।





