अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–तेघरीस्थित सैनिक आवासीय महाविद्यालय र सगरमाथा स्पोर्ट्स क्लबबीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
सगरमाथा स्पोर्ट्स क्लब फुटबल ट्रेनिङ सेन्टरले विभिन्न उमेर समूहका खेलाडीलाई निःशुल्क फुटबल प्रशिक्षण सञ्चालन गरेको एक महिना पूरा भएको अवसरमा महाविद्यालयको निमन्त्रणामा प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा पुरुष तथा महिला दुवै टोलीबीच प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल भएको थियो। खेलमार्फत सहभागी खेलाडीहरूले आफ्नो खेलकौशल प्रदर्शन गर्नुका साथै अनुशासन, मित्रता, आपसी सम्मान र अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त गरेका थिए। कार्यक्रममा दुवै संस्थाबीच आपसी सम्मान, सहकार्य र सद्भावको प्रतीकस्वरूप मायाको चिनो आदानप्रदान गरिएको थियो।
सगरमाथा स्पोर्ट्स क्लबका प्रशिक्षक विनोद दर्लामी मगरले प्रतियोगिताका लागि निमन्त्रणा तथा उत्कृष्ट आतिथ्य प्रदान गरेकोमा सैनिक आवासीय महाविद्यालय परिवारप्रति आभार व्यक्त गर्दै यस्ता मैत्रीपूर्ण प्रतियोगिताले खेलकुद संस्कृतिको विकास, युवा खेलाडीको मनोबल वृद्धि तथा संस्थाबीचको सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, स्थानीय स्तरमा खेलकुदको प्रवर्द्धन र प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमले खेलप्रतिको आकर्षण बढाउनुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
