


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गोदावरी नगरपालिका वडा नं. १० मा अवस्थित खमौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत प्रजनन रुग्णता स्वास्थ्य सेवासम्बन्धी निःशुल्क शिविर सञ्चालन हुने भएको छ ।


स्वास्थ्य शाखाका अनुसार आगामी २०८२ साल माघ २६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म वडा कार्यालय परिसरमा उक्त शिविर सञ्चालन गरिनेछ । शिविरमा ३० वर्षभन्दा माथिका सम्पूर्ण महिलाहरू तथा एच.आई.भी. संक्रमित महिलाको हकमा २५ वर्षभन्दा माथिका महिलाहरूलाई लक्षित गरी प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न सेवा प्रदान गरिनेछ ।



शिविरमा पाठेघर खस्ने समस्या तथा अब्स्टेट्रिक फिस्टुलाको स्क्रिनिङ र रिङ पेसरी सेवा, स्तन क्यान्सर पहिचान, बाँझोपन सम्बन्धी उपचार तथा प्रेषण सेवा, HVP DNA विधिबाट पाठेघरको मुखको क्यान्सर पहिचानका लागि नमुना संकलन, STI/PID उपचार तथा परामर्श, निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, परिवार नियोजनका लामो अवधिका साधन तथा आवश्यक परामर्श र प्रेषण सेवा उपलब्ध हुने जानकारी दिइएको छ ।
वडा अध्यक्ष रविन्द्र शाही गुड्डुले महिलाहरूको प्रजनन स्वास्थ्य समस्या समयमै पहिचान र उपचारका लागि यो शिविर प्रभावकारी हुने विश्वास व्यक्त गर्दै लक्षित समूहका महिलाहरूलाई सेवा लिन आग्रह गर्नुभएको छ ।
स्वास्थ्य शाखाले जानकारी दिएअनुसार सुत्केरी भएको १४ हप्ता नपुगेका, गर्भपतन गराएको १४ हप्ता नपुगेका तथा गर्भवती महिलाहरूको HVP DNA विधिबाट नमुना संकलन गरिने छैन ।
शिविरसम्बन्धी थप जानकारीका लागि शान्ति बलम्पाकी मोबाइल नम्वर ९८००६०३०६८ र यसोदा विष्ट मोबाइल नम्वर ९८६८७९२६३५ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।





