

काठमाडौं- शहरी विकास मन्त्रालयले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका ४२ जना जेन्जी सहिदका परिवारलाई मासिक रु. २१ हजार ८ सय का दरले पेन्सन वितरण गरेको छ ।



उक्त आन्दोलनमा कुल ७६ जनाको मृत्यु भएको थियो । सरकारको निर्णयअनुसार जेलबाट भागेका व्यक्तिबाहेक अन्य मृतकलाई सहिद घोषणा गरिएको थियो, जसमा तीन जना प्रहरी समेत रहेका छन् । प्रहरीबाहेकका ४२ जना सहिदका परिवारलाई हाल सहरी विकास मन्त्रालयमार्फत मासिक पेन्सन उपलब्ध गराइएको हो ।


मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार सहिद परिवारलाई मासिक रु. २१,८०० का दरले वर्षमा १३ महिना, १० वर्षसम्म पेन्सन प्रदान गरिनेछ । यस योजना अन्तर्गत कुल रु. ११ करोड ९० लाख २८ हजार बजेट आवश्यक पर्ने र उक्त रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको उनले जानकारी दिए ।
सरकारले सहिदका परिवारको सामाजिक तथा आर्थिक सुरक्षालाई ध्यानमा राख्दै उक्त सुविधा उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।

