

कञ्चनपुर- पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि सोमबार बिहान बेदकोट नगरपालिका–८ स्थित आफ्नो पुर्खौली घर पुगेका छन्।


जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीले लेखकको पुर्खौली घरमा आगजनी गर्दा घर पूर्णरूपमा जलेर नष्ट भएको थियो। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका नेता लेखकले जलेको घरको अवस्थाबारे स्थलगत अवलोकन गरेका छन्।



लेखकको काठमाडौँको नैकापमा रहेको घर र बेदकोट–८ मा रहेको पुर्खौली घर दुवै आगलागीबाट पूर्ण रूपमा क्षति भएका छन्। हाल उनी महेन्द्रनगर बजारस्थित मर्मत गरिएको घरमा आश्रय लिएर बस्दै आएका छन्।
पुर्खौली घरमा पुगेपछि नेता लेखकले स्थानीयवासीसँग साक्षात्कार गरेका थिए। सो क्रममा स्थानीयले गाउँमा भइरहेका सडक पूर्वाधारलगायत विभिन्न विकास निर्माणका विषयमा जानकारी गराएका थिए।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी हुँदै गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन्। नेपाली कांग्रेसले यसपटक डडेल्धुरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता रमेश लेखकलाई टिकट नदिएको हो।
पार्टीले कञ्चनपुरमा पूर्वजिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि नेता लेखकले चुनावी भेटघाट र राजनीतिक गतिविधिलाई तीव्र बनाएका छन्।