


देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ।


इतिहासका विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र, स्वतन्त्रता र जनअधिकारका पक्षमा भएका आन्दोलनमा जीवन बलिदान गर्ने वीर सपुतहरूको सम्झनामा साताव्यापी कार्यक्रम आयोजना गर्ने परम्परा अनुसार आज अन्तिम दिन विशेष कार्यक्रम हुँदैछ। सो अवसरमा शहीद उद्यान, लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिँदैछ।


आज बिहान शान्तिवाटिकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास तथा शहीदहरूको तस्बिर राखिएको बग्गीसहित प्रभातफेरी सुरु भई शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुनेछ। सभामा प्रधानमन्त्री, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने जनाइएको छ।
शहीद दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। यसअघि केन्द्र सरकारले शहीद दिवसको सार्वजनिक बिदा कटौती गरे पनि २०८० सालमा गरिएको निर्णयअनुसार २०८१ सालदेखि पुनः माघ १६ गते सार्वजनिक बिदा दिन थालिएको हो।
वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्ध नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई अधिकारका लागि प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो। त्यसै वर्ष माघ १३ गते धर्मभक्त माथेमा सिफलमा झुन्ड्याइएका थिए भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो। नेपालको पहिलो शहीदका रूपमा लखन थापालाई मानिन्छ।

वि.सं. २०१२ सालदेखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको इतिहास छ।
भदौ २३ मा ‘जेनजी शहीद दिवस’
यसैबीच, वर्तमान अन्तरिम चुनावी सरकारले प्रत्येक वर्ष भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको छ। मुलुकमा व्याप्त भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नवयुवा पुस्ताले भदौ २३ गतेदेखि सुरु गरेको आन्दोलनका क्रममा दुई दिनसम्म चलेको प्रदर्शनमा ७६ जनाको ज्यान गएको थियो। सो आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो।
त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम चुनावी सरकारको मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको हो।
यता, पछिल्ला वर्षहरूमा झैझगडा वा दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगको माग बढ्दै गएको भन्दै वास्तविक शहीदको सम्मानमा आँच पुगेको गुनासो बढ्न थालेको छ। स्पष्ट मापदण्डबिनै शहीद घोषणा गरिँदा शहीदको भावनामाथि प्रश्न उठिरहेको जनस्तरको टिप्पणी छ।
शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झिए पनि उनीहरूले देखेको सपना पूरा गर्न पर्याप्त काम हुन नसकेको गुनासो सुनिँदै आएको छ। यद्यपि, औपचारिक कार्यक्रममा भने शहीदको सपना साकार पार्न प्रतिबद्धता दोहोरिँदै आएको देखिन्छ। जेनजी युवा आन्दोलनको भावना विपरीत काम भइरहेको भन्दै वर्तमान अन्तरिम सरकारका गतिविधिमाथि पनि प्रश्न उठ्न थालेका छन्।





