धनगढी- अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर सुदूरपश्चिम प्रदेशको प्रमुख सहर धनगढीमा पहिलो पटक मम महोत्सव आयोजना हुने भएको छ। नेपालको हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ कटेज धनगढीले स्थानीय स्वाद र लोकप्रिय नेपाली खाजा ममको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागेको हो।



सिद्धार्थ कटेज केवल रेस्टुरेन्ट मात्र नभई पारिवारिक मनोरञ्जन र विलासिताको केन्द्रका रूपमा परिचित छ। यहाँ लक्जरी रेस्टुरेन्ट, प्राइभेट डाइनिङ, स्विमिङ पुल, वाटर फन पार्क तथा सभा–समारोह र तालिमका लागि अत्याधुनिक हलहरूको सुविधा उपलब्ध रहेको छ।



यसअघि सिद्धार्थ कटेजले नेपालगञ्जमा २०८० सालदेखि निरन्तर रूपमा मम फेस्टिभल आयोजना गर्दै आएको छ। चौथो संस्करणसम्म २०० भन्दा बढी प्रकारका मम परिकारहरू प्रस्तुत गरिसकेको अनुभवलाई आधार बनाउँदै, धनगढीमा आयोजना हुन लागेको महोत्सवमा पनि २०० भन्दा बढी प्रकारका ममको स्वाद लिन पाइने आयोजकले जनाएको छ।
महोत्सवमा ममका परिकारसँगै सुदूरपश्चिम प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू समेत रहनेछन्। स्थानीय पहिचान झल्काउने परिकारमार्फत क्षेत्रीय संस्कृति र स्वादको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा पहिलो र दोस्रो दिन सांस्कृतिक नृत्य, लाइभ ब्याण्ड तथा कलाकारहरूको प्रस्तुति रहनेछ भने तेस्रो दिन सांस्कृतिक कार्यक्रमसँगै मम मेकिङ तथा कुकिङ प्रतियोगिता आयोजना गरिनेछ।
हाल सिद्धार्थ ग्रुपले देशभर ३२ वटा होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेमार्फत सेवा प्रदान गर्दै आएको छ। स्थानीय उत्पादन र स्वादको प्रवर्द्धन गर्दै पर्यटन विकासमा योगदान पुर्याउने लक्ष्यसहित आयोजना हुन लागेको मम महोत्सवमा सहभागी हुन सिद्धार्थ कटेज धनगढीले सबैलाई आमन्त्रण गरेको छ।




