सुदूरपश्चिमका लोककथा लोप हुँदै 

कञ्चनपुर- हिउँदका कठ्याङ्ग्रिँदा चिसा रात, सुदूरपश्चिमका पहाडी गाउँबस्तीहरूमा एउटा छुट्टै रौनक र आत्मीय सुगन्ध लिएर आउँथ्यो । जब गाउँमा ‘साँझ, पर्दथ्यो, अर्थात् सन्ध्याकालको छायाँ छिप्पिँदै जान्थ्यो, घर–घरका अगेनामा धुवाउँदै आगो बालिन्थ्यो ।

Ganyapdhura gau

घरका महिलाहरु छिटोछिटो खाना बनाउने कार्यमा खटिन्थे । खाना खाएपछि आगोको न्यानो “आँच” नजिक ज्येष्ठ नागरिकहरू बस्दथे । उहाँहरूलाई वरिपरि नाति–नातिनीहरूले एउटा अटुट घेरामा बेर्दथे । ती अबोध आँखा र जिज्ञासु मनहरूको एउटै मधुर आग्रह हुन्थ्यो— “हजुरबुबा, आज एउटा कथा हालिदिनुस्”, वा “हजुरआमा, आज कुनै डर लाग्ने वा अचम्मको कहानी सुनाउनुस् ।”

Navadurga sun

त्यसपछि सुरु हुन्थ्यो लोककथा हाल्ने एउटा यस्तो अटुट सिलसिला, जसले रातको सन्नाटालाई मात्र चिर्दैनथ्यो, बरु सुन्नेहरूको मानसपटलमा एउटा नयाँ संसारको सृष्टि गरिदिन्थ्यो । कथा वाचन गर्ने ती ज्येष्ठ नागरिकहरू आफ्नो बोलीको लय मिलाउँदै, कहिले पात्रसँगै आफूलाई जोडेर भावुक बन्थे भने कहिले आँखाबाट आँसु झार्दै कथाको गहिराइ र पात्रको पीडालाई महसुस गराउँथे ।

कथाको बीच–बीचमा कथाको प्रसङ्गमै रहेर भावुक ‘देउडा’ वा ‘झ्याउरे’ का टुक्राहरू हालेर भाव व्यक्त गर्दथे भने कहिले कौतुहलता जाग्ने गरी कथा भन्ने गर्दथे, जसबाट केटाकेटीहरू कहिले डरले आँखा चिम्लिन्थे त कहिले ‘कुन्नि अब के हुन्छ’ भन्दै कथाको काल्पनिक सागरमा पौडिन्थे । “ती कुराहरुलाई झलझल्ती सम्झिदा पुराना बालापनका दिनहरु फिर्ता भैदिए झै लाग्छ,” श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्रविक्रम सिंहले भने, “समय बदलिँदै जाँदा ती बालापनका यादहरु सम्झनामा मात्र सीमित भएका छन्, अगेनाको आगो विस्तारै निभेझैँ गरी सुदूरपश्चिमका ती अनमोल लोककथाहरू पनि धुवाँझैँ हराउँदै गएका छन् ।”

डोटी, अछाम, बैतडी, डडेल्धुरा, दार्चुला, बाजुरा, बझाङ, कैलाली र कञ्चनपुर क्षेत्रमा बोलिने डोटेली र थारु भाषाहरूमा कथा ‘हाल्ने’ मौलिक परम्परा थियो । “यी कथाहरू कुनै आधुनिक पुस्तकालयका किताबमा अक्षरका रूपमा कोरिएका थिएनन्,” सिंहले भने, “बरु ‘बाजे–बज्यै’बाट ‘नाति–नातिनी’सम्म मुखैमुख सर्दै आएका अलिखित इतिहास थिए ।” उनका अनुसार सुदूरपश्चिमका लोककथाहरू विभिन्न धारामा फैलिएका छन् । यसले यहाँको सामाजिक बनावट, धार्मिक आस्था र मानिसहरूको सङ्घर्षमय जीवनलाई प्रतिनिधित्व गर्दछन् ।

सुदूरपश्चिम क्षेत्रलाई ‘देवभूमि’ पनि भनिन्छ । यहाँ ‘मष्टो’, ‘निङ्गलाशैनी’ सिद्धनाथ, वैजनाथ, सशस्त्र लिङ्ग वीरवेताल, ‘भागेश्वर’, उग्रतारा, ‘शैलेश्वरी’ र ‘मालिकार्जुन’ का दैवी कथाहरू गाउँगाउँमा सुनिन्छन् । डोटेली भाषामा यस्ता कथालाई ‘चैत’ भनिन्छ, जहाँ देवताहरू अन्याय सहँदैनन्, ‘धामी’ मार्फत सत्य ओकल्छन् र सधैँ गरिब एवं दुःखीको संरक्षकका रूपमा उभिन्छन् भन्ने विश्वास रहेको छ । यसमै आधारित लोककथाहरूले समाजमा न्याय, नैतिकता र आध्यात्मिक अनुशासनको बलियो जग बसालेका थिए ।

Dadhaldhura pur

लोककथाहरू वास्तवमा सुदूरपश्चिमी समाजका ऐनाका रूपमा रहेका छन् । “जुन समयमा न्यायिक निकाय थिएनन्, लिखित कानुनहरू आम मानिसको पहुँचभन्दा टाढा थिए, त्यसबेला ‘देवन्याय’ मा मानिसहरूको अटुट विश्वास थियो,” सामाजिक अगुवा शेरबहादुर साउदले भने, “कथामा झुटो बोल्नेले देवको रिस भोगेको र सत्यको बाटो हिँड्नेले अन्ततः सुख र मोक्ष पाएको प्रसङ्गले मानिसलाई डर र धर्म दुवैको सीमाभित्र बस्न प्रेरित गर्थ्यो ।”

पहाडबाट सुविधा खोज्दै तराई झर्ने क्रमसँगै यी कथाहरू पनि ओझेलमा परे । ६७ वर्षीय जयबहादुर ऐरले अहिले कथा सुन्न कर गर्नेहरू पनि नरहेको र सुनाउने बूढापाकाहरू पनि हराउँदै गएको बताए । “कथा भन्नेहरूले गीत हाल्दै यति रोचक ढङ्गले सुनाउँथे कि रात बितेको पत्तै हुँदैनथ्यो,” उनले भने ।

स्थानीय नरेन्द्रप्रसाद चौधरीले मकै छुटाउने श्रमसँगै कथा सुन्दा थकाइ मेटिन्थ्यो र त्यो अनुभूति आजको कुनै चलचित्रले दिन नसक्ने बताए ।

स्थानीय वीरबहादुर चौधरीले भावुक हुँदै भने, “त्यसबेलाको आत्मीयता नै बेग्लै थियो, अहिले न त सुनाउनेहरू रहे, न त नयाँ पुस्तामा सुन्ने चासो ।”

राना थारु समुदायमा पनि कथा वाचन हराउँदै गएकोप्रति शुक्लाफाँटा नगरपालिका–६ कसरौलका निवर्तमान वडाध्यक्ष जगता रानाले चिन्ता व्यक्त गरे । उनका अनुसार कथाहरूले सामाजिक मेलमिलाप, नैतिकता र सामूहिक चेतना बलियो बनाउँथे ।

भलमन्सा रामकिसन रानाले कथा सुन्ने संस्कार अब एकादेशको कथा जस्तै भएको बताए । “कथासँगै जीवनदर्शन पनि दिइन्थ्यो,” उनले भने ।

अन्त्यमा संस्कृतिकर्मी ईश्वर सुनारले लोककथाहरू डोटेली र थारु भाषामै सङ्कलन, डिजिटल अभिलेखीकरण र विद्यालय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । “लोककथा विगत मात्र होइन, सुदूरपश्चिमी पहिचानको मेरुदण्ड हो,” उनले भने, “यदि आज जोगाउन सकेनौँ भने भोलिको पुस्ता आफ्नै संस्कृतिबाट वञ्चित हुनेछ ।” रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...