

काठमाडौं- निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन आवश्यक सहयोग नपाएपछि आफू म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेको बताएका छन्।


शिक्षामन्त्री पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका पुनले शिक्षा क्षेत्रको संरचनागत सुधारबिना देश समृद्ध हुन नसक्ने दाबी गरेका छन्। राष्ट्रपति र संसद्को विधान समितिले आफूले प्रस्ताव गरेका तीन अध्यादेश र चार नियमावली स्वीकार गरेको भए आफू चुनाव लड्ने अवस्थामा नपुग्ने उनको भनाइ छ।



बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनले भने, “शिक्षा क्षेत्रमा आमूल सुधार गरेर देशलाई अघि बढाउने उद्देश्य थियो। तर तीन वटा अध्यादेश ल्याउन आवश्यक सहयोग नै भएन।”
उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै तथा बलियो मन्त्रालय गठन गर्ने प्रस्ताव पनि अघि सारेको उल्लेख गरेका छन्। तर उक्त प्रस्ताव मुख्य सचिव तहबाट रोकिएको आरोप उनले लगाएका छन्।
“छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने कुरा अल्झाइयो। त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,” पुनले लेखेका छन्।
त्यसपछि शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दी पुगेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको उनले बताएका छन्। पुनले अब शिक्षा, विज्ञान र प्रविधिलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रचारप्रसार गर्ने जनाएका छन्।

