लक्ष्मी भट्ट/अत्तरिया- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार हरिराम चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ताको अवसरमा नेकपाले पार्टी कार्यालयबाट अत्तरियास्थित निर्वाचन आयोगको कार्यालयसम्म बाजागाजा सहितको भव्य र्याली आयोजना गरेको थियो।



र्यालीमा क्षेत्र नम्बर ४ का सम्पूर्ण पार्टी सदस्यहरू तथा केन्द्रीय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा थारु तथा राना थारु समुदायका झाँकी र सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएका थिए, जसले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।



र्यालीका क्रममा “नेकपा जिन्दाबाद”, “हरिराम चौधरी जिन्दाबाद”, “क्षेत्र नम्बर ४ ले के भन्छ, हरिराम चौधरी ल्याऊ भन्छ”, “भोट केमा, तारामा – खुसी छाउँछ सारामा”, “युवाको ढुकढुकी हरिराम चौधरी”, “देश बनाउँछ, तारालाई भोट हालौँ साराले” लगायतका नाराहरू लगाइएका थिए।
उम्मेदवारी दर्ता पश्चात आयोजित सभामा बोल्दै वक्ताहरूले नेपाली कम्युनिष्ट पार्टी देशकै सबैभन्दा ठूलो पार्टी भएको उल्लेख गरे। भर्खरै साना–साना पार्टीहरूसँग एकीकरण भई थप सशक्त बनेको नेकपा सर्वहारा वर्गको प्रतिनिधि पार्टी भएको र आफ्ना कमी–कमजोरी सच्याउँदै अगाडि बढिरहेको उनीहरूको भनाइ थियो।
वक्ताहरूले क्षेत्र नम्बर ४ का उम्मेदवार हरिराम चौधरी इमानदार, सक्षम तथा राष्ट्रिय उत्थानमा योगदान पुर्याएका व्यक्तित्व भएको बताउँदै क्षेत्रका सम्पूर्ण जनताले एकजुट भई उनलाई बहुमतका साथ विजयी गराउनुपर्नेमा जोड दिए। उनीहरूले आगामी निर्वाचनमा हरिराम चौधरी बहुमतले विजयी हुने विश्वाससमेत व्यक्त गरे।




