अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–७ मा नगरपालिकाले सञ्चालन गर्दै आएको गौशालालाई ६ टन पशु आहार सहयोग प्राप्त भएको छ । आज राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय, हरिहरभवन ललितपुरले उक्त पशु आहार सहयोग हस्तान्तरण गरेको हो ।


सहयोग हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका प्रतिनिधि तथा गौशालाका संरक्षक यतिराज कँडेललगायतको उपस्थिति रहेको थियो ।


चिसो मौसम र आहारको अभावका कारण चौपायाहरू मर्न थालेको खबर प्राप्त भएपछि पशुहरूको रक्षा, स्वास्थ्य संरक्षण तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले पशु आहार सहयोग गरिएको वरिष्ठ पशु विकास अधिकृत डा. आभाष पौडेलले जानकारी दिए।
उनका अनुसार चिसो मौसममा पशुहरू बढी जोखिममा रहने भएकाले समयमै गरिएको आहार सहयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्नेछ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख वीरेन्द्र भट्टले गौशालालाई प्रदेश तथा केन्द्र सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै स्थानीय सरकारले पनि पशु संरक्षण र व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताए ।
उनले बजार क्षेत्रमा माटो र प्लास्टिकसमेत खाँदा कमजोर बनेका छाडा गाईबस्तुलाई ठुलो जंगल क्षेत्रमा व्यवस्थापन गर्दा चिसो मौसमका कारण दैनिकजसो पशु मर्न थालेपछि केही व्यक्तिहरू आक्रोशित भई गौशालामाथि नै दोषारोपण गरेको गुनासो गरे ।
छाडा चौपाया व्यवस्थापन पछिल्लो समय चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै नगर प्रमुख भट्टले समस्याको दीर्घकालीन समाधानका लागि जनप्रतिनिधिसँगै नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले संघीय, प्रदेश र स्थानीय तहबीचको समन्वयले मात्र यस्ता सामाजिक तथा पशु कल्याणसम्बन्धी समस्या समाधान सम्भव हुने बताए ।
उनले राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयबाट प्राप्त आहार सहयोगले गौशालामा आश्रित पशुहरूको स्वास्थ्य सुधार हुनुका साथै व्यवस्थापनमा समेत सहजता आउने विश्वास व्यक्त गरे ।