संसदीय निर्वाचनको औचित्यमाथि अन्तर्क्रियात्मक गोष्ठी सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- ६ वटा कम्युनिस्ट पार्टीहरूको संघर्ष समिति, कैलालीको आयोजनामा “संसदीय निर्वाचनको औचित्य” विषयक अन्तर्क्रियात्मक गोष्ठी आज शुक्रबार प्रतिभा पुस्तकालयमा सम्पन्न भएको छ।

गोष्ठीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (जनपक्षीय), समाजवादी कम्युनिस्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी नेपालका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

Navadurga sun

कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका लाल बहादुर जाग्री रहनुभएको थियो भने अध्यक्षता सोही पार्टीका रुद्र कडेलले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन नेकपा (बहुमत) का रमेश साँवदले गर्नुभएको थियो। विशिष्ट अतिथिमा नेकपा (बहुमत) का डि.डी. पाण्डे, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका श्याम कुँवर र नेकपा (बहुमत) का राम भट्ट रहनुभएको थियो।

गोष्ठीमा वक्ताहरूले आगामी फागुन २१ गते घोषणा गरिएको संसदीय निर्वाचन औचित्यहीन रहेको र बहिष्कार आवश्यक रहेको धारणा व्यक्त गरे। उनीहरूले वर्तमान निर्वाचन प्रणालीले अल्पमतलाई बहुमतमाथि शासन गर्ने व्यवस्था कायम गरेको, निर्वाचन विदेशी शक्तिहरूको योजनाअनुसार सञ्चालन भइरहेको र निष्पक्ष निर्वाचनको कुनै ग्यारेन्टी नभएको आरोप लगाए।

वक्ताहरूले वर्तमान अवस्थामा निर्वाचनभन्दा पनि भ्रष्टाचारविरुद्ध कडा कारबाही, स्वाधीन संयुक्त सरकार गठन, जनवादी संविधान निर्माण, शिक्षा–स्वास्थ्य निःशुल्क, रोजगारीको ग्यारेन्टी तथा राष्ट्रिय स्वाधीनताको रक्षा आवश्यक रहेको बताए। साथै निर्वाचनमा हुने अर्बौं रुपैयाँ खर्च जनताको आधारभूत आवश्यकतामा लगानी गर्नुपर्ने उनीहरूको भनाइ थियो।

गोष्ठीले संसदीय निर्वाचन बहिष्कार गर्दै आन्दोलनको माध्यमबाट स्वाधीन संयुक्त सरकार गठनका लागि संघर्ष अघि बढाउने निष्कर्ष निकालेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...