हिमाचल प्रदेशमा ग्यास विस्फोट: नौ नेपालीको मृत्यु

भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको ज्यान गएको छ। मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२, टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

सोमबार राति करिब २ बजे उनीहरू सुतिरहेको कोठामै राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागी भएको थियो। आगो फैलिँदा वरपरका घरसमेत जलेर ध्वस्त भएका छन्। विस्फोटको तीव्रताका कारण घटनास्थलमै सबैको मृत्यु भएको जनाइएको छ।

Navadurga sun

वडा सदस्य लक्ष्मी विकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक छन्। यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि मृत्यु भएको छ।

उनीहरू करिब दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै आएका थिए र स्थानीय क्षेत्रमा मजदुरी गर्दै आएका थिए। उनीहरू बसोबास गरिरहेको कोठामै ग्यास सिलिन्डर राखिएको र त्यहीँबाट विस्फोट भएको अनुमान गरिएको छ।

हालसम्म पाँच जनाको शव फेला परेको छ भने बाँकी शवको खोजी कार्य जारी रहेको छ। विस्फोटका कारण शवहरू तितरवितर भएकाले सबैको औपचारिक पहिचान प्रक्रिया पूरा हुन नसकेको जनाइएको छ। घटनास्थलमा स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार तथा अनुसन्धान कार्य तीव्र पारेका छन्।

एकै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका–२ शोकमा डुबेको छ। गाउँभरि शोकको वातावरण छाएको छ भने आफन्त र छिमेकीहरू स्तब्ध बनेका छन्।

वडा अध्यक्ष मेकराज बुढाथोकीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मङ्गलबार वडा शोक सभा आयोजना गरिने जानकारी दिए। साथै वडा कार्यालयसहित सम्बन्धित सरकारी कार्यालयहरूमा शोक बिदा दिइने निर्णय गरिएको उनले बताए। रोजगारी गरेर परिवार पाल्ने सपना बोकेर विदेश गएका गाउँका नागरिक यसरी अकालमै ज्यान गुमाउनु अत्यन्त पीडादायी भएको उनको भनाइ छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...