


कञ्चनपुर- जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘राडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ ।


नदीको जलस्तर वास्तविक समयमा मापन गरी तत्काल सूचना उपलब्ध गराउने आधुनिक प्रविधियुक्त उक्त सेन्सर इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘स्मार्ट’ परियोजनाअन्तर्गत जडान गरिएको परियोजनाका संयोजक राजकुमार सुनारले जानकारी दिए ।



उनका अनुसार आरएलएस जडान कार्यमा जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया र बेदकोट नगरपालिकाको सहकार्य रहेको छ । सेन्सरले नदीको जलस्तरसम्बन्धी वास्तविक तथ्याङ्क (रियल टाइम डाटा) सङ्कलन गरी तुरुन्तै सूचना उपलब्ध गराउने भएकाले बर्खायाममा आउन सक्ने सम्भावित बाढीको पूर्वसूचना समयमै प्राप्त हुने अपेक्षा गरिएको छ ।
“यस प्रविधिबाट तल्लो तटीय क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन सकिनेछ, जसले जीउधनको क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ,” संयोजक सुनारले भने । उनका अनुसार सेन्सर जडान भएपछि बेदकोट नगरपालिकासँगै भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकाका तल्लो तटीय क्षेत्रका बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
हाल प्रविधि जडानको काम मात्रै सम्पन्न भएको र यसलाई वर्षा सुरु हुनुअगावै जल तथा मौसम विज्ञान विभागको प्रणालीमा आबद्ध गरिने जानकारी पनि उनले दिए । त्यसपछि नदीको जलस्तर विभागको वेबसाइटमार्फत प्रत्यक्ष रूपमा हेर्न सकिनेछ ।
बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको बताए । “राधानदीमा जडान गरिएको आरएलएस प्रविधिले बाढीबाट हुन सक्ने क्षति कम गर्न र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ,” उनले भने । रासस





