धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारमा नेता सुर्यबहादुर थापाको नाम समावेश गर्न माग गरिएको छ। थापाका प्रतिनिधिहरूले कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगानालाई ध्यानाकर्षण पत्र बुझाउँदै उनको नाम समेत माथिल्लो कमिटीमा सिफारिस गर्न आग्रह गरेका हुन्।




जिल्ला कमिटीको बैठक बस्नुअघि थापाका प्रतिनिधि डिल्लीप्रसाद गड्तौलासहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो। पत्रमा क्षेत्रीय कमिटीले षड्यन्त्रपूर्वक थापाको नाम जिल्लामा सिफारिस नगरेको आरोप लगाइएको छ।


एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यसमेत रहेका सुर्यबहादुर थापा यसअघि प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहँदै आएका थिए। तर क्षेत्रीय समन्वय कमिटीले झपटबहादुर रावल, महादेव बजगाई र कमला ओलीको नाम मात्र जिल्लालाई पठाएको थियो।
यस विषयमा जिल्ला कमिटीले थापाको नाम थप गरी माथिल्लो कमिटीमा सिफारिस गर्ने प्रतिबद्धता जनाएको छ।




