पुस शुक्ल पूर्णिमासँगै सुरु भयो स्वस्थानी व्रत र माघ स्नान

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने स्वस्थानी व्रत तथा माघ स्नान आजदेखि सुरु भएको छ। यस अवधिमा वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक स्वस्थानी देवीको पूजा, व्रत र कथा वाचन गर्ने परम्परा रहेको छ।

सतीदेवीका अङ्ग पतन भएका विभिन्न शक्तिपीठमा देवीदेवताको वास रहेको धार्मिक विश्वासका आधारमा यो परम्परा सुरु भएको मानिन्छ। पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माघ स्नान र स्वस्थानी व्रत गरिन्छ। व्रतको सुरुआत् पौष शुक्ल चतुर्दशीका दिन हातखुट्टाका नङ काटी स्नान गरेर शुद्ध वस्त्र धारण गरी गरिन्छ।

Navadurga sun
Godawari sandesh

व्रतालुले बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने र बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यमा आधारित स्वस्थानी व्रत कथा सुन्ने–सुनाउने परम्परा छ। कुल परम्पराअनुसार कतिपयले बिहान र कतिपयले बेलुकी कथावाचन गर्ने चलन रहेको छ।

एक महिनासम्म विधिपूर्वक व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रत सफल होस् भनी भगवतीलाई अर्घ्य दिने विधि छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ भाग पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई दिने तथा कसै पनि नभए नजिकको पवित्र नदीमा विसर्जन गर्ने परम्परा रहेको छ।

Dadeldhura hospital

यस दिन व्रतालुले सय रोटी फलाहार गरी रातभर जाग्राम बस्ने र देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसो गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। ‘स्वस्थानी’ को शाब्दिक अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। आफ्नो स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा भएको विश्वास छ। उत्तरायणपछिको समय ध्यान र योग साधनाका लागि उपयुक्त हुने भएकाले आत्मचिन्तनसँग जोडेर स्वस्थानी व्रतको महत्व व्याख्या गरिँदै आएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी, कमल र सिंहासनमा विराजमान देवीका रूपमा वर्णन गरिएको छ। उनका अनुसार देवीको पहिलो हातमा नीलकमल, दोस्रोमा खड्ग, तेस्रोमा ढाल र चौथोमा वरदमुद्रा रहेको उल्लेख पुराणमा पाइन्छ।

धार्मिक विश्वासअनुसार स्वस्थानी व्रत गर्नाले बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याधि निको हुने तथा इच्छाएको पति वा पत्नी प्राप्त हुने कथाहरू प्रचलित छन्। सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन विष्णुको निर्देशनमा स्वस्थानी व्रत गरेको कथा स्वस्थानी ग्रन्थमा वर्णन गरिएको छ। साथै नाग–नागिनीको पुनर्मिलन र गोमा ब्राह्मणीले व्रतको प्रभावबाट पुत्र वियोगबाट मुक्ति पाएको कथासमेत उल्लेख छन्।

यसै अवसरमा काठमाडौं उपत्यकाको उत्तर–पूर्वी भेगमा पर्ने साँखुस्थित शालिनदीमा आजदेखि एक महिनासम्म माधवनारायण मेला पनि सुरु भएको छ। माघ महिनामा शालिनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पाप नाश भई पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण प्रत्येक वर्ष लाखौँ भक्तजन यहाँ आउने गर्छन्।

शालिनदी व्यवस्थापन समितिका अनुसार यस वर्षको मेलाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। शालिनदीमा स्नान तथा माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन्।

Loading...