धनगढी- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा धनगढीमा आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।



सुदूरपश्चिम प्रदेश प्रमुख महेश सिलवालका अनुसार कार्यक्रममा ८८५१ पिन्ट रगत संकलन गरिएको छ। कार्यक्रममा बैंकका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय नागरिकहरूले सक्रिय सहभागिता जनाएका थिए।


सिलवालले रक्तदानजस्तो जीवनरक्षक कार्यमार्फत समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्न पाउँदा बैंक परिवार गौरवान्वित भएको बताए। उनले यस्ता कार्यक्रमले आपतकालीन अवस्थामा रगतको अभाव झेलिरहेका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। संकलित रगत रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा विभिन्न अस्पताल र उपचार केन्द्रमा आवश्यकताअनुसार प्रयोग गरिने जनाइएको छ। बैंकले भविष्यमा पनि यस्ता सामाजिक र स्वास्थ्यसम्बन्धी कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।





