कञ्चनपुरमा उद्धारमा ढिलाइ हुँदा नदीमा फसेको बाघको डमरूको मृत्यु

कञ्चनपुर- समयमै उद्धार हुन नसक्दा कञ्चनपुरको जोगबुढा नदीमा फसेको बाघको बच्चा (डमरू)को मृत्यु भएको छ। दोधारा चाँदनी नगरपालिका–१ स्थित चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिक जोगबुढा नदीको हिलो र पानीमा फसेको अवस्थामा डमरू बुधबार बिहान मृत भेटिएको हो।

स्थानीयका अनुसार करिब दुई महिनाको डमरू नदीमा फसेको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालय कञ्चनपुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई खबर गरिएको थियो। तर सम्बन्धित निकायबाट समयमै उद्धार नहुँदा डमरूको ज्यान गएको स्थानीयले बताएका छन्।

Navadurga sun

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको लापरवाहीका कारण डमरूको मृत्यु भएको दाबी गरे। उनका अनुसार डमरू फसेको सूचना पाएपछि आफू उद्धारका लागि घटनास्थल जान खोज्दा सशस्त्र प्रहरीले निकुञ्जका वार्डेनको अनुमति नदेखाई प्रवेश गर्न नदिएको थियो।

“निकुञ्जले आफैं पनि उद्धार नगर्ने र वन कार्यालयको टोलीलाई समेत जान नदिइएकै कारण डमरूको ज्यान गयो,” डिसीले भने।

तर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले उद्धारमा ढिलाइ भएको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार दिउँसो करिब २ बजे डमरू नदीमा फसेको खबर प्राप्त भएपछि चिकित्सकसहितको प्राविधिक टोली तत्काल घटनास्थल पुगेको थियो।

“घटनास्थल वरिपरि बघिनी देखिएकाले माउले नै बच्चा लिएर जाओस् भन्ने उद्देश्यले टोलीले निगरानी गर्दै रातिसम्म कुरेको हो,” चौधरीले भने, “उद्धार टोली नगएको भन्ने कुरा गलत हो, तर दुर्भाग्यवश डमरूको मृत्यु भयो।”

हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ४४ वटा पाटेबाघ संरक्षणमा रहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...