मुक्त कमैया, कमलहरी र हलियाको पुनःस्थापना र आर्थिक उन्नतिमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले मुक्त कमैया, कमलहरी र हलियाको आर्थिक तथा सामाजिक उन्नतिमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

Ganyapdhura gau

मंगलबार धनगढीमा मुक्त कमैया महिला विकास मञ्चद्वारा आयोजित कैलाली र कञ्चनपुर जिल्लाका मुक्त कमैयाको सामाजिक तथा आर्थिक अधिकार प्रवर्द्धनसम्बन्धी साझेदारी परियोजनाको समापन समारोहमा बोल्दै मन्त्री थापाले मुक्ति घोषणा भएको लामो समय बितिसक्दा पनि उनीहरूका समस्या पूर्ण रूपमा समाधान हुन नसकेको बताए। उनले मुक्त कमैया, कमलहरी र हलियाका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारे।

Navadurga sun
Godawari sandesh

संघ सरकारबाट पुनःस्थापनाका काम हुनेमा आफू विश्वस्त नरहेको उल्लेख गर्दै मन्त्री थापाले संघ सरकारले जिम्मेवारी पूरा नगरेर छोडेको आरोप लगाए। अब प्रदेश र स्थानीय सरकार मिलेर समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो। उनले प्रदेश सरकारले हाल मुक्त कमैया, कमलहरी र हलियाको पुनःस्थापनाका काम गरिरहेको जानकारी दिँदै यस वर्ष पनि एक सय घर निर्माणका लागि बजेट विनियोजन गरिएको बताए।

स्थानीय तहले अझै पुनःस्थापना नभएका मुक्त कमैया, कमलहरी र हलियाको यथार्थ तथ्यांक तयार गर्नुपर्नेमा उनले जोड दिए। आवास निर्माणको जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

Dadeldhura hospital

कार्यक्रममा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले मुक्त कमैया महिला विकास मञ्चले पछिल्लो चार वर्षमा मुक्त कमैयाको जीवनस्तर सुधारका लागि उल्लेखनीय काम गरेको बताए। संस्थाले कृषि, सहकारी र शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको र यस्ता कार्यक्रम अझै आवश्यक रहेको उनले बताए।

शुक्लाफाँटाका स्थानीय भागिराम चौधरीले परियोजनाले महिला सशक्तिकरण र मुक्त कमैया महिलाको आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेलेको बताए।

कार्यक्रम संयोजक ईन्द्र चौधरीले परियोजनाका गतिविधिबारे प्रस्तुतिकरण गर्दै सन् २०२२ देखि २०२५ सम्म चार वर्षको अवधिमा कैलाली र कञ्चनपुरका १ हजार १ सय ६५ परिवार लाभान्वित भएको जानकारी दिए। परियोजनाअन्तर्गत बैठक, रिफ्लेक्ट कक्षा, परिवार संवाद, वित्तीय साक्षरता कक्षा, वकालत तथा संघ–प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने कार्य गरिएको उनले बताए।

परियोजनामार्फत १ सय ४५ जनालाई बंगुरपालनका खोर, ५६ जनालाई १.५ महिने पीओपी तालिम, ४६ जनालाई टेलरिङ तालिम, ४० जनालाई लोकल कुखुरा पालनका खोर, ४१३ जनालाई फलफूलका बिरुवा, १ सय जनालाई तरकारी खेतीका लागि पोलिहाउस वितरण गरिएको जानकारी दिइयो। साथै, कैलारीका आगलागी पीडितलाई ३४ हजार पाँच सय रुपैयाँ राहत, ६ वटा कुटानी–पिसानी मिल, २४ जना तरकारी व्यवसायीलाई साइकल तथा १९ जनालाई दुनाटपरी बनाउने मेसिन वितरण गरिएको जनाइएको छ।

मुक्त कमैया महिला विकास मञ्चकी अध्यक्ष सीमा चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महरा, गौरीगंगा नगरपालिकाका नगरप्रमुख देवीदत्त कँडेल, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी लगायतको उपस्थिति रहेको थियो।

Couple
Loading...