

समानुपातिकतर्फको बन्दसूची पेस गर्न निर्वाचन आयोगले उपलब्ध गराएको समयसीमा आज सकिँदै छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन हो ।


केही दलले आइतबार बन्दसूची बुझाए पनि अधिकांश ठूला दल आज आयोग जाँदै छन् । नेपाली कांग्रेसले बन्दसूची तयार पार्न सकेको छैन । समानुपातिकतर्फबाट कसकसलाई उमेदवार बनाउने भन्ने अन्तिम समयसम्म पनि टुंगो लगाउन नसकेको हो ।


कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ नयाँलाई अवसर दिने बताएको छ । गत बुधबारदेखि जारी बैठकमा समानुपातिकतर्फको बन्दसूची तयार पार्ने काम अझै सकिएको छैन ।

कांग्रेसले बन्दसूची पेस गर्ने समय एक हप्तापछि सार्न गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेपछि कांग्रेस छलफलमा भने जुटेको छ । बन्दसूची तयार पार्नका लागि बुधबारदेखि सुरु भएको कार्यसम्पादन समिति बैठक अझै टुंगोमा पुग्न सकेको छैन ।
“हामी प्रदेशगत आधारमा निरन्तर छलफल गरिरहेका छौँ । आकांक्षीहरूको सम्बोधन गर्नुपर्ने र प्राविधिक रूपमा पनि मिलाउनुपर्ने हुँदा अझै हामी सूची टुंग्याउने तहमा पुगिसकेका छैनौँ,” सुदूरपश्चिम प्रदेशको सूची तयार पार्न छलफलमा रहेका सहमहामन्त्री बद्री पाण्डेले भने, “हामीले समानुपातिकतर्फ नयाँलाई अवसर दिने भनेका छौँ । प्राविधिक रूपमा मिलाएर सम्भवत सोमबार मात्र बन्दसूची तयार पार्न सक्छौँ ।”
संस्थापन पक्षले प्रदेशगत रूपमा सात नेतालाई जिम्मेवारी दिँदै आफ्नो पक्षको प्रारम्भिक सूची तयार पारेको जनाएको छ । उसले संस्थापनइतर पक्षबाट आउने सोची कुरिरहेको जनाएको छ । तर संस्थापनइतर पक्षले आफ्ना उमेदवार प्रस्तुत गरिनसकेको संस्थापन पक्षको भनाइ छ ।
कांग्रेससँगै एमाले, नेकपा, रास्वपालगायत राजनीतिक दलले आज बन्दसूची पेस गर्ने तयारी गरेका छन् ।

