महोत्सवमा दर्शकको उल्लेखनीय उपस्थिति, समीक्षा अधिकारी र रमेश राज भट्टराईको सांगीतिक जादु

बिहीबार करिब ६ हजारभन्दा बढीले गरे अवलोकन

अत्तरिया- सृजनशील युवा क्लबद्वारा आयोजित सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा बिहीबार करिब ६ हजारभन्दा बढी दर्शकको उल्लेखनीय उपस्थिति देखिएको छ । महोत्सव सुरु भएदेखि नै महोत्सव स्थल दर्शकले खचाखच भरिएको थियो भने दिनभर सांस्कृतिक र सांगीतिक कार्यक्रमप्रति दर्शकको उत्साह देखिन्थ्यो ।

टिकट व्यवस्थापन संयोजक छविन्द्रनाथ योगीका अनुसार बिहीबार महोत्सव स्थलमा स्थानीय मात्र नभई छिमेकी क्षेत्रका दर्शकसमेत उल्लेख्य संख्यामा सहभागी भएका थिए । “दिनभर दर्शकको चहलपहल रह्यो, कार्यक्रमप्रति दर्शकको आकर्षण अत्यन्तै सकारात्मक देखियो,” उनले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

महोत्सवअन्तर्गत बिहीबार आयोजित सांगीतिक कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारी र लोकप्रिय गायक रमेश राज भट्टराई लगायतका कलाकारहरूले आफ्ना चर्चित तथा लोकप्रिय गीत प्रस्तुत गरेका थिए । कलाकारहरूको दमदार प्रस्तुतीसँगै दर्शकले ताली, नाच र गायनमार्फत सक्रिय सहभागिता जनाउँदै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएका थिए । कलाकार र दर्शकबीचको आत्मीय सम्बन्धले कार्यक्रमको माहोल थप जीवन्त बनेको थियो ।

त्यसैगरी महोत्सवको निरन्तरतासँगै भोलि हुने सांगीतिक कार्यक्रममा देउडा गायक भुवन दाहाल, चेतन बोहरा, सरस्वती सेठी र पवित्रा भण्डारीसहित स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । देउडा तथा स्थानीय मौलिक गीत–संगीतमार्फत स्थानीय कला, संस्कृति र पहिचानलाई उजागर गर्ने तयारी गरिएको छ ।

स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस महोत्सवले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको आयोजकले बताएका छन् । आयोजकका अनुसार महोत्सवले मनोरञ्जनसँगै स्थानीय कलाकारलाई प्रोत्साहन, संस्कृतिको जगेर्ना तथा सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

Loading...