


कैलाली- कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा सङ्घीय सरकारले निर्माण गरेको उक्त होल्डिङ सेन्टर निर्माण सम्पन्न भएको तीन वर्षभन्दा बढी समय बितिसक्दासमेत सञ्चालनमा आउन सकेको छैन ।


निर्माण सम्पन्न भइसके पनि हालसम्म स्वामित्व हस्तान्तरण नहुँदा होल्डिङ सेन्टर प्रयोगविहीन बनेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार होल्डिङ सेन्टरको स्वामित्व र सञ्चालन ढाँचाका विषयमा हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।



“होल्डिङ सेन्टर नेपाली सेनाले निर्माण गरेको हो । यसको सञ्चालन ढाँचा के हुने भन्नेबारे रक्षा मन्त्रालयबाट निर्णय आउनुपर्ने हो, तर अहिलेसम्म केही जानकारी आएको छैन,” जोशीले भने, “हाल उक्त संरचनाको रेखदेख नेपाली सेनाले नै गरिरहेको छ ।”
एक हजार क्षमताको सो होल्डिङ सेन्टरमा ५९ वटा ब्लक, २० वटा क्वारेन्टिन कक्ष, दुई वटा चिकित्सक कक्ष, २२ वटा शौचालय र १५ वटा भान्साकोठा निर्माण गरिएको छ । कोरोना महामारीको आपतकालीन अवस्थालाई ध्यानमा राखी सङ्घीय सरकारको रु २८ करोड ८१ लाख लागतमा विसं २०७८ वैशाखमा निर्माण सुरु गरिएको सेन्टर विसं २०७९ साउनमा निर्माण सम्पन्न भएको थियो ।
महामारी सकिएपछि सेन्टरको उपयोगबारे स्पष्ट योजना नबन्दा यति ठूलो लगानीको संरचना प्रयोगविहीन बनेको स्थानीयवासीको गुनासो छ । उनीहरू समयमै निर्णय नलिए संरचना थप जीर्ण बन्दै जाने र राज्यको लगानी खेर जाने चिन्ता व्यक्त गर्छन् ।





