बैतडी- घरवारविहीन बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई रु दुई लाख २५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विभिन्न व्यक्तिहरूबाट सङ्कलित उक्त रकमलाई आज हस्तान्तरण गरिएको सहयोग सङ्कलनका अभियान्ता तथा पत्रकार सुरेश महराले जानकारी दिए ।



जानकीका श्रीमान् नरेश महराको गत मंसिर १८ गते मिनिट्रक दुर्घटनामा परी निधन भएको थियो । श्रीमान्को निधनपश्चात् घरसमेत नरहेकी जानकीले किरियाको समयमासमेत छिमेकीको घरमा बसेकी थिइन् । नरेशले यसअघि नै घरजग्गा सबै बेचेका थिए । घरजग्गा सबै बेच्नुका साथै रातदिन कुटपिट गर्ने नरेशको पीडा सहन नसकेर जानकी पाटनस्थित सुरक्षित आवासगृहमा बस्दै आएकी थिइन्।



लगत्तै श्रीमान्को मृत्युपश्चात् जानकी र बालबच्चा बिचल्ली भएपछि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । अभियानबाट सङ्कलित रकम मंगलबार हस्तान्तरण गरिएको हो । जानकीको बैंक खातासमेत नहुँदा पत्रकार महराले नै सहयोग सङ्कलन अभियान चलाउनुभएको थियो । सहयोग गर्नुहुने सबै दाताहरूलाई धन्यवादसमेत ज्ञापन गरिएको छ ।
यसैबिच पीडित जानकी महराको काठमाडौँस्थित किरण नमस्ते नेपाल संस्था र ग्रेस एकडेमी स्कुलमा बालबालिकाको पठनपाठनको व्यवस्था गरेको छ । जानकी बालबच्चासहित काठमाडौँ जाने तयारीमा छिन् । जानकीका दुई छोरी र एक छोरा छन् ।
सहयोग गर्न चाहनेले जानकी महराको बैतडीस्थित ग्लोबल आईएमई बैंकको खाता नम्बर ३८७०७०१००१४८१८ जम्मा गर्नसक्नुहुनेछ ।




