धनगढी- नेपालको तराई क्षेत्र, विशेषगरी पश्चिम तराईमा पछिल्ला केही दिनयता चिसो ह्वात्तै बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी, नेपालगन्जलगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेपछि ‘चिसो दिन’ (Cold Day) को अवस्था देखिएको हो।



मौसमविद् सरोज पुडासैनीका अनुसार डिसेम्बर २३ मा धनगढीको अधिकतम तापक्रम १३.१ डिग्री सेल्सियस मात्र रेकर्ड गरिएको छ। सामान्यतया यस समयमा त्यहाँको सरदर अधिकतम तापक्रम २२.३ डिग्री सेल्सियस रहने गर्छ। सरदरभन्दा करिब ९ डिग्री सेल्सियसको गिरावट आएपछि स्थानीयको दैनिक जनजीवन र हवाई उडानसमेत प्रभावित भएको छ।



त्यसैगरी नेपालगन्जमा पनि अधिकतम तापक्रम सरदर २२.१ डिग्री सेल्सियस हुनुपर्नेमा घटेर १३.१ डिग्री सेल्सियसमा झरेको छ। आज पनि यी क्षेत्रको तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभरका तराई भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। तराई–मधेशका अधिकांश स्थानमा भिजिबिलिटी १ किलोमिटरभन्दा कम रहेको छ। पश्चिम तराईमा हिजो दिनभर घाम लाग्न नसकेको र आज पनि अवस्था उस्तै रहने पूर्वानुमान गरिएको छ।
तराई मात्र नभई पहाडी क्षेत्रका खोँच, उपत्यका तथा नदी तटीय क्षेत्रमा पनि हुस्सु लागेको मौसमविद् पुडासैनीले जानकारी दिए। काठमाडौँ उपत्यकामा भने बिहान हल्का हुस्सु लागे पनि दिउँसो घाम लाग्ने प्रक्षेपण गरिएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
विभागले तराईदेखि मधेश प्रदेशसम्मका नागरिकलाई चिसोबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। घाम नलाग्ने र बाक्लो हुस्सु लाग्ने क्रम आगामी केही दिन जारी रहने सम्भावना रहेकाले स्वास्थ्य, यातायात तथा हवाई यात्रामा विशेष ध्यान दिन मौसमविद्को सुझाव छ।




