घोडाघोडीमा मोतियाबिन्दुका बिरामी बढ्दो, आँखा परीक्षण शिविरमा ३८४ मध्ये ७५ जनामा समस्या

कैलाली- कैलालीको घोडाघोडी नगरपालिकामा मोतियाबिन्दुको समस्या उच्च देखिएको छ। नगरपालिकाको घोडाघोडी–१ सुख्खडमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा परीक्षण गरिएका ३८४ जनामध्ये ७५ जनामा मोतियाबिन्दुको समस्या फेला परेको हो।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालको आयोजनामा शिविर सञ्चालन गरिएको थियो। शिविरमा पहिचान भएका मोतियाबिन्दुका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले जानकारी दिए।

Navadurga sun

उनका अनुसार मोतियाबिन्दु देखिएका बिरामीको आइतबार र बिहीबार शल्यक्रिया गरिने व्यवस्था गरिएको छ। साथै बिरामीलाई सुख्खडबाट अस्पतालसम्म ल्याउन निःशुल्क सवारीसाधनको सुविधा समेत उपलब्ध गराइएको छ।

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी– आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायसँग सहकार्य गरी अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गर्दै वार्षिक सयौँ आँखा शिविर सञ्चालन गर्दै आएको बताए।

उनले ग्रामीण क्षेत्रका न्यून आयस्तरका, गरिब तथा विपन्न नागरिकहरू आर्थिक र भौगोलिक पहुँचको अभावका कारण उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गरे।

त्यसैगरी सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिएको छ भने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवामा पहुँच पुर्‍याइएको छ।

सङ्घले स्थापनाकालदेखि सन् २०२४ को अन्त्यसम्म २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको जनाएको छ। यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...