

कञ्चनपुर- जिल्लाको दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको तीव्र विकाससँगै सुगम बन्दै गएको छ। वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण कष्टकर बन्दै आएको यहाँको जनजीवनमा कालोपत्र सडक र पुल निर्माणपछि उल्लेखनीय परिवर्तन आएको छ।


केही वर्षअघिसम्म वर्षा सुरु हुनासाथ बाहिरी संसारसँग सम्पर्क विच्छेद हुने लालझाडीमा अहिले अवस्था पूरै फेरिएको छ। लालझाडी–कञ्जका स्थानीय बासिन्दा बलराम राना पुराना दिन सम्झिँदै भन्छन्, “वर्षात लागेपछि सडकमा गोडासम्म हिलो हुन्थ्यो, बिरामी परे एम्बुलेन्स त के, मान्छेले बोकेर लैजानसमेत कठिन थियो।”


हिउँदमा कच्ची सडकबाट उड्ने धुलोले घर, खेतीपाती ढाकिन्थ्यो भने बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या आम थियो। खोलामा पुल नहुँदा जोखिमपूर्ण डुङ्गा यात्रामा निर्भर रहनुपर्ने बाध्यता थियो।
स्थानीय जनप्रतिनिधि आएपछि विकासले गति लिएको स्थानीय रामप्रसाद राना बताउँछन्। “पहिला नदीमा झोलुङ्गे पुल बन्यो, त्यसले डुङ्गा तर्ने दिनको अन्त्य गर्यो,” उनले भने, “पछि दोदा नदीको बल्मी नजिकै पक्की पुल बनेपछि आवतजावत झनै सहज भयो।”

आफ्नै घरअगाडि कालोपत्र सडक बनेको देख्दा स्थानीय महेश्वरी राना अझै पनि अचम्म मान्छिन्। “हामीले कहिल्यै कल्पनासमेत गरेका थिएनौँ कि घरअगाडि यति चिल्लो सडक बन्छ,” उनले भनिन्, “संघीयता र स्थानीय सरकार आएपछि सडकलाई प्राथमिकतामा राखेर काम भएकै कारण आज यस्तो परिवर्तन सम्भव भएको हो।”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार हालसम्म लालझाडीमा २७.५ किलोमिटर सडक कालोपत्र भइसकेको छ। गाउँपालिका, सुदूरपश्चिम प्रदेश र संघीय सरकारको सहकार्यमा चानदेव–बल्मी सडक, वडा नं २ को चक्रपथ तथा वडा नं १ का रणनीतिक सडक कालोपत्र गरिएको उनले जानकारी दिए।
गाउँपालिकाले थप ३२ किलोमिटर सडक कालोपत्र गर्ने प्रक्रिया अघि बढाएको छ। चालु आर्थिक वर्षमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १३.६ किलोमिटर, एडीबीको पीएलआर कार्यक्रमअन्तर्गत १३.५ किलोमिटर र पाँच किलोमिटर चक्रपथ कालोपत्र गर्ने लक्ष्य रहेको सार्कीले बताए।
पूर्वाधार विकाससँगै लालझाडी कञ्चनपुरमै सबैभन्दा पहिला नगर अस्पताल निर्माण गर्ने गाउँपालिका बनेको छ, जुन सञ्चालनको तयारीमा छ। दोदा नदीमा नन्द गाउँ–बल्मी र लालझाडी–भकुण्डा जोड्ने पक्की पुल सञ्चालनमा आइसकेका छन् भने जाइँ–देखतभूली र देखतभूली–दुबहा सिकलपट्टी जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ।
सडक र पुल निर्माणले किसानलाई समेत ठूलो राहत पुगेको छ। किसानले उखु र तरकारीजस्ता उत्पादन खेतबाटै सिधै बजार वा चिनी मिलसम्म पुर्याउन थालेका छन्, जसले बिचौलियाको भूमिका घटाएको छ। सडक सुविधा विस्तारसँगै एम्बुलेन्स र दमकलजस्ता आपत्कालीन सवारीसाधन गाउँका भित्री बस्तीसम्म पुग्न थालेका छन्। सडक आसपास नयाँ पसल, बजार र साना उद्योग खुल्न थालेपछि स्थानीय युवा गाउँमै रोजगारीतर्फ आकर्षित भएका छन्।