कैलालीको मोहन्यालका दर्जनौँ बस्ती अझै अन्धकारमा

विद्युत् विस्तार ढिलाइ हुँदा शिक्षा र दैनिकी प्रभावित

कैलाली- सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलाली जिल्लामा अझै पनि विद्युत् सेवाबाट वञ्चित गाउँबस्ती रहेका छन् । जिल्लाको मोहन्याल गाउँपालिकाका दर्जनौँ बस्तीमा आजसम्म राष्ट्रिय विद्युत् प्रसारण लाइन नपुग्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ ।

कर्णाली चिसापानीबाट करिब ६ किलोमिटर दूरीमा रहेको मोहन्याल गाउँपालिका–७ का राजकाँडा, धुलिकोट, जुतेसुली, मालचाना, बासगैरीलगायतका बस्तीहरू अझै अन्धकारमै छन् । मुख्य राजमार्ग नजिकै रहेर पनि विद्युत् सेवा नपुग्नुले राज्यको विकास योजना र कार्यान्वयनप्रति गम्भीर प्रश्न उठेको स्थानीयवासीको गुनासो छ ।

Navadurga sun
Godawari sandesh

विद्युत् अभावका कारण सबैभन्दा बढी असर बालबालिकाको शिक्षामा परेको स्थानीय भरत खत्रीले बताए । “साँझपख पढ्न समस्या हुन्छ, मोबाइल चार्ज गर्न पाइँदैन, खानेपानीका पम्प चलाउन नसक्दा र साना व्यवसाय सञ्चालन गर्न कठिन हुँदा जनजीवन झन् कष्टकर बनेको छ,” उनले भने, “देशभर उज्यालोको चर्चा भइरहँदा हामी भने अन्धकारमै बस्न बाध्य छौँ।”

Dadeldhura hospital

बसाइँसराइका कारण बस्ती विस्तार भइरहे पनि आधारभूत सेवाको पहुँच नपुग्दा समस्या थपिँदै गएको स्थानीयको भनाइ छ । करिब एक सय वर्षदेखि यहाँ बसोबास गर्दै आएको बताउने स्थानीय राजेन्द्र मुडभरीले अन्य क्षेत्रको तुलनामा मोहन्यालको विकास निकै पछाडि परेको गुनासो गरे ।

यता, विद्युत् कार्यालयले भने पहिलो चरणको काम सुरु भइसकेको जनाएको छ । लम्की बजारबाट मोहन्यालको राजकाँडासम्म करिब १६ किलोमिटर दूरीमा विद्युत् लाइन विस्तार गर्ने योजना अनुसार हाल ८० लाख रुपैयाँको बजेटमा ४ किलोमिटर क्षेत्रमा पोल गाड्ने काम सम्पन्न भएको लम्की विद्युत् सब–स्टेसनले जानकारी दिएको छ ।

सब–स्टेसन प्रमुख कमल न्यौपानेका अनुसार माथिल्लो क्षेत्रसम्म लाइन विस्तार गर्न थप बजेट माग भइसकेको छ । बजेट सुनिश्चित भएपछि बाँकी क्षेत्रमा पनि काम तीव्र रूपमा अघि बढाइने उनको भनाइ छ ।

तर, स्थानीय बासिन्दा भने वर्षौँदेखि विद्युत् आउने आशामै बसेका छन् । मुख्य राजमार्ग नजिकैका गाउँहरू अझै अन्धकारमा रहनु राज्यको योजना र कार्यान्वयनबीचको खाडलको उदाहरण भएको उनीहरूको भनाइ छ । देशले उत्पादन गरेको विद्युत् विदेश निर्यात गर्ने चर्चा भइरहँदा आफ्नै गाउँमा बल्ब बाल्न नपाउनु विडम्बनापूर्ण भएको स्थानीयले बताएका छन् । स्थानीयवासीले विद्युत् विस्तारलाई प्राथमिकतामा राखी छिटो सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

Loading...