बैतडीका महिलाको व्यावसायिक बेसारखेती, बाँझो जमिन सदुपयोग गर्दै आत्मनिर्भर बन्दै

बैतडी- बैतडी जिल्लाका महिलाहरू व्यावसायिक रूपमा बेसारखेतीतर्फ आकर्षित हुन थालेका छन्। विगतमा घरायसी प्रयोजनका लागि मात्र बेसारखेती गर्दै आएका महिलाहरू अहिले यसलाई आम्दानीको स्रोतका रूपमा विकास गर्न थालेका हुन्।

पाटन नगरपालिका–६ की कलसा लुहारका अनुसार खाद्यबालीमा जङ्गली जनावर, विशेषगरी बाँदरले क्षति पुर्‍याउन थालेपछि वैकल्पिक खेतीका रूपमा बेसारखेती सुरु गरिएको हो। उनले भनिन्, “बाँदरले अन्य बालीमा धेरै क्षति गर्न थाल्यो। त्यसपछि बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा बेसारखेती गरिरहेका छौँ।”

Navadurga sun

जिल्लाको पाटन नगरपालिका, सिगास र सुर्नया गाउँपालिकाका महिला उद्यमी समूहमा आबद्ध ४४ महिलाले हाल बेसारखेती गरिरहेका छन्। पहिले घरका लागि मात्रै उत्पादन गर्दै आएका महिला अहिले व्यावसायिक रूपमा खेती गर्न थालेको सुर्नया गाउँपालिका–६ की पवित्रा शाहले बताइन्।

उनका अनुसार ‘सारथी नेपाल’द्वारा सञ्चालित ‘दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण’ परियोजनाअन्तर्गत बीउ तथा प्राविधिक सहयोग प्राप्त भएपछि बेसारसँगै लसुनखेती पनि सुरु गरिएको हो। उक्त परियोजना पाटन नगरपालिका–६, ८ र ९, सिगास गाउँपालिका–१ र २ तथा सुर्नया गाउँपालिका–६ मा सञ्चालन भइरहेको छ।

परियोजनाका फिल्ड सुपरभाइजर दिपेश धामीका अनुसार महिला उद्यमी समूहमा आबद्ध किसानलाई बीउबिजन र प्राविधिक सहयोग निरन्तर रूपमा प्रदान गरिँदै आएको छ। बाँझो जमिनको सदुपयोग गर्दै महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले सारथी नेपालले सहयोग गर्दै आएको उनले बताए।

कार्यक्रम संयोजक भुपाल बोहराका अनुसार परियोजनाअन्तर्गत महिलाहरूले बेसारसँगै अदुवा, लसुन र टनेलभित्र गोलभेँडाखेती पनि गरिरहेका छन्। “महिलाहरूले निकै मेहनत गरिरहेका छन्। यस वर्ष करिब साढे तीन सय क्विन्टल बेसार उत्पादन हुने अपेक्षा गरेका छौँ,” उनले भने, “समय–समयमा प्राविधिकसहित खेतबारीमा पुगेर समस्या पहिचान र समाधान गर्ने काम गरिरहेका छौँ।”

व्यावसायिक खेतीले आम्दानी बढ्नुका साथै बाँझो जमिनको सदुपयोग र महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुगेको स्थानीयको भनाइ छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...