कैलालीमा माध्यमिक तहमा शिक्षक दरबन्दी अभाव, पठनपाठन राहत र अनुदानकै भरमा

कैलाली- विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा कैलाली जिल्लाका माध्यमिक तहका विद्यालयमा पठनपाठन चुनौतीपूर्ण बन्दै गएको छ । विद्यालयको सङ्ख्या बढ्दै गए पनि स्वीकृत शिक्षक दरबन्दी नबढ्दा अधिकांश सामुदायिक विद्यालय राहत र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको भरमा सञ्चालन भइरहेका छन् ।

जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्म पठनपाठन हुने विद्यालयको सङ्ख्या १७४ रहेको छ भने संस्थागत सहित कूल ३१२ विद्यालयले माध्यमिक तहसम्मको पठनपाठन गराउँदै आएका छन् । तर माध्यमिक तहमा जिल्लाभर स्वीकृत शिक्षक दरबन्दी भने जम्मा १४४ जनाको मात्रै छ । नियम अनुसार एक माध्यमिक विद्यालयमा कम्तीमा पाँच जनाको शिक्षक दरबन्दी हुनुपर्ने भए पनि कैयौँ विद्यालयमा एक जनाको पनि दरबन्दी छैन ।

Navadurga sun
Godawari sandesh

जिल्ला शिक्षा समन्वय एकाइ धनगढी कैलालीका सूचना अधिकारी राजेन्द्र भट्टका अनुसार जिल्लामा माध्यमिक तहमा राहत कोटामा २२१ जना शिक्षक कार्यरत छन् । शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षक स्थानीय तहमार्फत नियुक्त हुने भएकाले यकिन तथ्याङ्क उपलब्ध नभएको उनले बताए । वि.सं. २०७४ पछि स्थानीय तहले विद्यालयको सङ्ख्या बढाउँदै लगे पनि सोअनुसार स्वीकृत दरबन्दी नबढेको उनको भनाइ छ ।

“स्वीकृत दरबन्दी पुरानो छ । अहिले नयाँ दरबन्दी स्वीकृत गर्ने स्पष्ट आधार छैन,” भट्टले भने, “राहत र अनुदानका शिक्षकबाटै पठनपाठन भइरहेको छ । शिक्षक अभावकै कारण पठनपाठन पूर्ण रूपमा अवरुद्ध भएको अवस्था भने छैन ।”

Dadeldhura hospital

जिल्ला शिक्षा समन्वय एकाइको तथ्याङ्कअनुसार आधारभूत तहका ३७६ विद्यालयमा २०९ शिक्षकको दरबन्दी छ भने ३६८ जना राहत अनुदानमा कार्यरत छन् । साविक उच्च मावि तहका ४३ अस्थायी दरबन्दीमध्ये ८७ जना शिक्षक राहत अनुदान कोटामार्फत अध्यापन गराइरहेका छन् ।

स्थानीय तहअन्तर्गत शिक्षक व्यवस्थापनको विषय अझै अन्योलमै रहेको देखिन्छ । टीकापुर नगरपालिकामा माध्यमिक तहसम्म पठनपाठन हुने १२ विद्यालय रहेकामा सातवटामा मात्र शिक्षक दरबन्दी छ । ती विद्यालयमा १४ जना स्थायी शिक्षक कार्यरत छन् भने पाँचवटा विद्यालयमा मावि शिक्षकको दरबन्दी नै छैन । नगरपालिका भित्र माध्यमिक तहमा २१ जना शिक्षक राहत अनुदानमा र ११ जना शिक्षण सिकाइ अनुदानमा कार्यरत छन् । कक्षा १० मा मात्रै ९९८ विद्यार्थी अध्ययनरत छन् ।

भजनी नगरपालिकाको अवस्था पनि उस्तै छ । त्यहाँ माध्यमिक तहसम्म पठनपाठन हुने ११ विद्यालयमध्ये नौ वटामा स्वीकृत दरबन्दी छैन । नगरपालिकामा राहत अनुदानमा १५ जना, शिक्षण सिकाइ अनुदानमा १७ जना र नगर अनुदानमा १४ जना शिक्षक कार्यरत छन् । भजनीमा कक्षा १० मा २८४ विद्यार्थी अध्ययनरत छन् ।

स्थानीय तहले नगर अनुदानमा नियुक्त गरेका शिक्षकको पारिश्रमिक न्यून हुँदा योग्य शिक्षक पाउन समस्या भएको शिक्षा अधिकृतहरू बताउँछन् । निमाविमा मासिक २० हजार र प्राविमा १८ हजार रुपैयाँ पारिश्रमिक दिइँदै आएको छ । “कार्यालय सहयोगीको तलब शिक्षकभन्दा बढी छ,” टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले भने, “कम पारिश्रमिकका कारण पछिल्लो समय शिक्षक पाउन मुस्किल भइरहेको छ ।”

विद्यालयको सङ्ख्याको तुलनामा शिक्षक दरबन्दी न्यून रहँदा अधिकांश सामुदायिक विद्यालय राहत र अनुदानकै भरमा सञ्चालन भइरहेका छन् । अङ्ग्रेजी, गणित र विज्ञान विषयमा उपलब्ध गराइँदै आएको शिक्षण सिकाइ अनुदान रकम रोकिने हो भने कैयौँ माध्यमिक विद्यालय बन्द हुने जोखिम रहेको सरोकारवालाहरूले बताएका छन् । रासस

Loading...