

धनगढी- कैलालीको विभिन्न स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला चेकपोष्ट नजिकबाट टीकापुर नगरपालिका–१ ब्लक नम्वर १२ बस्ने २१ वर्षीय सुरेन्द्र थ्यायत ३७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।



थ्यायतलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।


यसैगरी लम्कीचुहा नगरपालिका–१ भुरुवा स्थित भित्री सडक खण्डबाट सोही ठाउँ बस्ने १९ वर्षीय करन नेपालीलाई ६६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ । नेपालीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यस्तै टीकापुर नगरपालिका–९ खक्रौला स्थित सडकखण्डबाट टीकापुर नगरपालिका–३ कटानपुर बस्ने २० वर्षीय बिशाल विकलाई १ ग्राम १०० खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । मंगलवार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





