धनगढीमा भुवा पर्व महोत्सव तथा भुवाचाली खेल प्रतियोगिता हुने, प्रथम पुरस्कार ५० हजार रुपैयाँ

धनगढी- बाजुरेली समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित भुवा पर्व महोत्सव तथा भुवाचाली खेल प्रतियोगिता–२०८१ धनगढीमा आयोजना हुने भएको छ। महोत्सव पुष ४ गतेदेखि ६ गतेसम्म धनगढी रङ्गशालाको प्राङ्गणमा सञ्चालन गरिनेछ।

बाजुरेली सेवा समाज धनगढी, कैलालीको आयोजनामा तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको प्रायोजकत्वमा महोत्सव हुन लागेको हो। आयोजकले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो।

godawari10 Mahila hinsa
Navadurga sun

समाजका अध्यक्ष भरत केसीका अनुसार पुष ४ गते भुवा पर्व महोत्सवको औपचारिक उद्घाटन तथा भुवाचाली खेल प्रदर्शन, पुष ५ गते भुवाचाली खेल प्रतियोगिता र पुष ६ गते पुरस्कार वितरण, प्रमाणपत्र तथा प्रशंसापत्र वितरण, भुवाचाली प्रदर्शनी, देउडा लगायत विभिन्न मौलिक सांस्कृतिक प्रस्तुतिसहित महोत्सवको समापन गरिनेछ।

Dadeldhura hospital

भुवाचाली खेल प्रतियोगितामा करिब १० टिमको सहभागिता रहने अनुमान गरिएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि पुष ३ गतेसम्म दर्ताको समय तोकिएको अध्यक्ष केसीले जानकारी दिए। महोत्सव अवधिभर प्रत्येक दिन भुवाचाली खेल प्रदर्शन, लाइभ देउडा तथा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने उनले बताए।

प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै, सहभागी सबै टोलीलाई १०–१० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार भुवा पर्व बाजुरेली समाजको पहिचानसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व हो। ऐतिहासिक मान्यताअनुसार भारतको हरियाणा राज्यस्थित कुरुक्षेत्रमा पाण्डव र कौरवबीच भएको युद्धमा असत्यमाथि सत्यको विजय भएको खुसीयालीस्वरूप युद्धमा प्रयोग गरिएका ढाल र तरवार नचाई खेलिने खेल नै आजको भुवाचाली खेलको रूपमा विकास भएको मानिन्छ।

नयाँ पुस्तामा यो पर्व लोप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यसको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि बाजुरेली सेवा समाजले पछिल्ला तीन वर्षदेखि निरन्तर भुवा पर्व महोत्सव तथा भुवाचाली खेल प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ।

आयोजकले भुवाचाली खेलसँगै सांस्कृतिक झाँकी, परम्परागत प्रस्तुति तथा समुदायबीच आपसी सद्भाव सुदृढ बनाउने विविध गतिविधिहरू महोत्सवमा समेटिने बताउँदै सम्पूर्ण कला–संस्कृति प्रेमी, खेलप्रेमी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई महोत्सवको गरिमा बढाइदिन आग्रह गरेको छ।

Loading...