धनगढी- नवजीवन सहकारी संस्था लिमिटेड, धनगढीले आफ्नो ३२ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । वार्षिकोत्सवको अवसरमा सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वैच्छिक रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।



रक्तदान कार्यक्रममा सहकारीका शेयरधनी, कर्मचारी, स्थानीय नागरिक तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममार्फत सहकारीले मानवीय सेवा र सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता पूरा गरेको आयोजकले जनाएको छ ।


कार्यक्रममा सहकारीका संस्थापकहरूप्रति सम्मान व्यक्त गर्दै विगत ३२ वर्षको यात्रामा सहकारीलाई निरन्तर सहयोग पुर्याउने शेयरधनी, शुभेच्छुक, विभिन्न संघ–संस्था तथा सरोकारवाला निकायप्रति आभार प्रकट गरिएको थियो । साथै आगामी दिनहरूमा पनि सबैको निरन्तर स्नेह, सद्भाव र सहकार्यको अपेक्षा गरिएको सहकारीले जनाएको छ ।
स्थापना कालदेखि नै नवजीवन सहकारीले सदस्य–केन्द्रित सेवा, वित्तीय पहुँच विस्तार तथा सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै आएको छ । सहकारीले भविष्यमा पनि सामाजिक उत्तरदायित्वसँगै आर्थिक सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।





