कैलालीमा जालपादेवी केवलकार आयोजना निर्माण तीव्र गतिमा

कैलाली- कैलालीको प्रमुख पर्यटकीय गन्तव्य चिसापानीदेखि राजकाँडा सम्म निर्माण भइरहेको जालपादेवी केवलकार आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ । निजी क्षेत्रको लगानीमा करिब सात अर्ब रुपैयाँ लागतमा निर्माण हुँदै आएको यस केवलकारलाई आउँदो बैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

आयोजनाले करिब ३ किलोमिटर लामो केवलकार निर्माणसँगै पाँचतारे र चारतारे होटल, क्यासिनो, जिपलाइन, स्काइ साइकलिङ, पार्टी प्यालेस लगायतका पर्यटकीय पूर्वाधारसमेत निर्माण गर्ने योजना बनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

केवलकार निर्माण आयोजनाका व्यवस्थापक विजय पौडेलका अनुसार पहिलो चरणमा केवलकार निर्माण सम्पन्न हुनेछ भने दोस्रो चरणमा होटल, क्यासिनो र अन्य संरचना निर्माण गरिनेछ । वर्तमानमा आवश्यक १४ वटा टावर र ३४ वटा गोन्डुला निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

राजकाँडामा चारतारे होटल, मन्दिर, जिपलाइन र स्काइ साइकलिङजस्ता साहसिक संरचना निर्माण हुनेछन् भने चिसापानीमा पाँचतारे होटल, क्यासिनो र पार्टी प्यालेस निर्माण हुनेछन्। केवलकारको एकतर्फी यात्रा करिब १० मिनेटको हुने र यात्राको क्रममा कर्णाली नदी, पुल तथा चुरे पहाडको रमणीय दृश्य अवलोकन गर्न सकिनेछ ।

यस आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र स्थानीय व्यवसायी सूर्य थापा समेत लगानीकर्ताका रूपमा रहेका छन् । आयोजनाले ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र स्थानीय तथा क्षेत्रीय आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

गत वर्ष १३ पुसमा तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवाले आयोजनाको शिलान्यास गरेकी थिइन् । सरकारले आयोजनाका लागि २० विघा जग्गा लिजमा उपलब्ध गराएको छ ।

Loading...