झलारी बजारमा २० वर्षदेखि ठेलामार्फत जीविका चलाउँदै आएका करनबहादुर ऐर

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतिर बिहानै हिँड्ने जोकोहीलाई सडक छेउको एउटा परिचित दृश्य देख्न छुट्दैन— फलफूल, चाउचाउ, बिस्कुटदेखि खेलौनासम्म राखिएको ठेला, र त्यसैसँग बसेका करनबहादुर ऐर। पैसठ्ठी वर्ष उमेर नाघ्दै गरेका ऐरलाई बजारका मानिस नामभन्दा बढी मेहनतले चिन्छन्।

उनी दैनिक चार किलोमिटर टाढाको घरबाट बिहानै पैदल झलारी बजार आइपुग्छन्। दशकअघि सुरु गरेको ठेला व्यवसाय अहिले उनको नियमित आयस्रोत बनेको छ। करिब २० हजार रुपैयाँ लगानीमा चल्दै आएको ठेलाबाट उनी दैनिक एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्म कमाउँछन्। सडक छेउमै रहेको ठेला भएकाले सवारीसाधनका चालक, परिचालकदेखि बाटो हिँड्ने यात्रु उनीका मुख्य ग्राहक हुन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

“ठेलाको कमाइले घरखर्च, लत्ताकपडा, औषधोपचार सबै चल्छ,” ऐर भन्छन्, “पाखुरी चल्दासम्म अरूको भर पर्न मन छैन।” उनका दुई छोरा भए पनि दम्पतीले हालसम्म छोराको कमाइमा निर्भर हुनुपरेको छैन।

उमेरले विश्राम खोज्ने समय आए पनि ऐर भने आफ्नो पौरखमा बाँचिरहेका छन्। यस व्यवसायमा उनकी श्रीमती सबैभन्दा ठूलो सहारा हुन्। “दुई जनाले मिलेर चलाउँछौँ, यसैमा घर सजिलै चल्छ,” उनी भन्छन्।

व्यवसायी मात्र नभई ऐर स्थानीय समाजसेवकका रूपमा पनि परिचित छन्। उनी तत्कालीन झलारी गाविसका वडाध्यक्ष, नगरपालिका गठनपछि वडा सदस्य तथा असिग्राम माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसमेत रहिसकेका छन्। समुदायका लागि दशकौँ खर्चिएका उनले अब बाँकी जीवन आत्मनिर्भर भएर बिताउने चाहना व्यक्त गर्छन्।

उनी व्यवस्थित, समयपालनशील र विनम्र व्यवहारका कारण बजारमा ‘सभापति’ नामले समेत चिनिन्छन्। साँझ झुल्कँदा बजार सुस्ताउँदै जाँदा उनी दैनिकझैँ ठेलाका सामान नजिकैको पसलमा राखेर घरतिर लाग्छन्। उमेर बढ्दै गए पनि उनी थकित देखिँदैनन्। जीवनले सिकाएको आत्मनिर्भरता र मेहनत इतिहास अझै पनि उनको कदमसँगै अगाडि बढिरहेको छ।

Loading...