कैलाली–कञ्चनपुरका किसानबाट खाद्यले १६ करोड बराबरको धान खरिद

धनगढी- यस वर्ष कैलाली र कञ्चनपुरका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई झन्डै १६ करोड रुपैयाँ बराबरको धान बिक्री गरेका छन्। दुई जिल्लाका किसानले जम्मा ४५ हजार ९५४.७३ क्विन्टल धान प्रादेशिक कार्यालय धनगढीमा बिक्री गरेका हुन्।

कार्यालय प्रमुख दीपक थापाका अनुसार तीन साताको अवधिमा १५ करोड ९१ लाख ७८ हजार ४५३ रुपैयाँ बराबरको धान खरिद गरिएको हो। सरकारले तोकेको समर्थन मूल्यअनुसार मोटा चामलको मूल्य ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम चामलको ३ हजार ६२८ रुपैयाँ ३३ पैसा प्रति क्विन्टल निर्धारण गरिएको थियो।

Navadurga sun

यस वर्ष खाद्यले पहिलो चरणमा कैलालीका लागि ३५ हजार क्विन्टल र कञ्चनपुरका लागि ५ हजार क्विन्टल कोटा पाएको थियो। तर किसानको चाप अत्यधिक बढेपछि कार्यालयले कोटाभन्दा झन्डै ६ हजार क्विन्टल बढी धान खरिद गरेको छ। कैलालीमा खरिद मात्रा बढेर ३८ हजार ९४८ क्विन्टल पुगेको छ भने कञ्चनपुरमा ७ हजार ६ क्विन्टल धान खरिद गरिएको छ।

कैलालीको मोहनापुर, टीकापुर, भजनी, सती, जोशीपुर र गौरीगंगा गरी ६ स्थानबाट धान खरिद गरिएको छ। यस्तै, कञ्चनपुरमा महेन्द्रनगर र पुनर्वास केन्द्रमार्फत धान संकलन गरिएको हो।

यसअघि किसानले समर्थन मूल्य नपाएको गुनासो गरेपछि मुख्यमन्त्री कमलबहादुर शाहले प्रमुख जिल्ला अधिकारीमार्फत धान खरिद प्रक्रिया छिटो खोल्न निर्देशन दिएका थिए। पछिल्लो दिनहरूमा धान बिक्री केन्द्रमा किसानको भीड बढेपछि मन्त्रालयले अतिरिक्त कोटा आवश्यक भएको निष्कर्ष निकालेको छ। मुख्यमन्त्री शाहले सुदूरपश्चिम भ्रमणमा रहेका अर्थमन्त्री रामेश्वर खनाललाई ५० हजार क्विन्टल अतिरिक्त कोटा उपलब्ध गराउन आग्रह पनि गरेका छन्।

कैलाली र कञ्चनपुरमा वर्षेनी १० लाख क्विन्टल जति धान उत्पादन हुने गर्छ। त्यसमध्ये झन्डै ३ लाख क्विन्टल घरेलु उपभोग र ७ लाख क्विन्टल बजारमा बिक्री हुने गरेको तथ्यांक छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...